काँग्रेस कमजोर हुँदा देश कमजोर हुन्छ – नेता गिरी

हापुरे, साउन १७ ।
तत्कालिन पुरन्धारा गाविसका नेपाली काँग्रेस उपसभापति शालिकराम घिमिरेको हत्या भएको २८ बर्ष पछि शालिक निर्माण गरिएको छ ।
२०५५/०४/१६ गते घिमिरेको तत्कालिन नेकपा माओबादीलेले घर नजिकै गोली हानेर हत्या गरेका थिए ।
स्वर्गिय घिमिरेको हत्या गरिएकै स्थान बबई गाउँपालिका – ५ हापुरेमा शालिक निर्माण गरि साउन १६ गते अनावरण गरिएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरी र कांग्रेस नेता रामहरि खतिवडाले संयुक्त रूपमा स्वर्गिय घिमिरेको शालिक अनावरण गरेका थिए ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले स्वर्गीय घिमिरे लोकतन्त्र र नेपाली कांग्रेसप्रति समर्पित, इमान्दार तथा साहशी नेता रहेको स्मरण गरे । उनले घिमिरे जस्ता नेता तथा कार्यकर्ताको बलिदानकै कारण नेपाली कांग्रेस आजको अवस्थामा पुगेको बताए ।

नेता गिरीले लोकतन्त्र स्थापनाका लागि ज्यानको पर्वाह नगरी संघर्ष गर्ने शहीदको योगदान कहिल्यै बिर्सन नहुने भन्दै उनीहरूको सम्मान गर्नु सबैको दायित्व भएको बताए ।
काँग्रेस भएकै कारण शालिकरामको तत्कालिन माओबादीले हत्या गरेपनि शालिकरामको बिचार कहिलै नमर्ने उनले चर्चा गरेका थिए ।
नेता गिरीले पछिल्लो ३५ वर्षमा पश्चिम दाङमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधार क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । ‘पहिला तुलसीपुर र घोराही पुग्न निकै कठिन थियो, अहिले सहज भएको छ । अपेक्षाअनुसार सबै काम नभए पनि विगतको तुलनामा धेरै विकास भएको छ,’ उनले भने।
पूर्वमन्त्री गिरीले आफू जीवित रहुन्जेल दाङको विकासका लागि निरन्तर काम गर्ने विश्वास दिलाए ।
त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका लागि संसद मार्फत प्रभावकारी आयोग गठन आवश्यक रहेको उनको धारणा थियो । उनले टरिगाउँ एयरपोर्ट बन्नु अति जरुरी भएपनि कपिपयले सामाजिक संजालमा चर्चा कमाउनका लागि मात्रै नक्कली कुरा गर्न थालेको भन्दै त्यसरी एयरपोर्ट नबन्ने जिकिर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ंग्रेसका नेता रामहरि खतिवडाले ंग्रेस कमजोर बन्दै जाँदा देशको लोकतान्त्रिक प्रणाली, कानुनी राज्य र राष्ट्रियता समेत कमजोर बन्ने बताए ।
शनिबार हापुरेमा तत्कालीन पुरन्धारा गाविसका पार्टी उपसभापति शालिकरामको शालिक अनावरण कार्यक्रममा नेता खतिवडाले लोकतन्त्रको संरक्षणका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका हुन ।

अहिले कर्मचारीतन्त्रमा ‘हाइजम्प र लङजम्प प्रतियोगिता’ जस्तो अवस्था देखिएको र न्यायपालिकामा समेत हस्तक्षेपका विषय उठिरहेको भन्दै उनले कानुनी शासनभन्दा माथि कोही हुन नसक्ने स्पष्ट पारे । ‘कानुन हातमा होइन, कानुन साथमा लिएर अघि बढ्ने पद्धतिको विकास हुनुपर्छ,’ उनले भने ।
उनले कांग्रेसले जनताको विश्वास जित्दा कहिल्यै जनतालाई नहराएको दाबी गर्दै अहिले अन्य दलहरू सत्तामा पुगे पनि देशले चुनौतीको सामना गरिरहेको टिप्पणी गरे।
‘जनताबाट निर्वाचित प्रधानमन्त्री जनतासँग बोल्दैनन्, जनताबाट निर्वाचित गृहमन्त्री पनि जनतासँग हुँदैनन् हामी जनता भन्दा ठूलो कोही मान्दैनौँ, उहाँहरू सत्ता भन्दा ठूलो कोही मान्नुहुन्न,’ उनले भने।
खतिवडाले कांग्रेस आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने पार्टी भएको भन्दै कांग्रेस बन्दुकको बलमा नभइ जनमतको आधारमा राजनीति गर्ने दल भएको बताए । उनले अहिलेका सबै राजनीतिक दल अन्ततः कांग्रेसले स्थापित गरेको लोकतान्त्रिक पद्धति स्वीकार गर्न बाध्य भएको दाबी गरे।
‘हामी चुनावमा मतले हारेका हुन सक्छौँ, तर कांग्रेसले स्थापित गरेको सिद्धान्तमा सबै दल आउनुपरेको छ। बहुदल नमान्नेहरूले बहुदल स्वीकारे, गणतन्त्र नमान्नेहरूले गणतन्त्र स्वीकारे, जनता भन्दा बन्दुक ठूलो भन्नेहरूले पनि अन्ततः जनता नै ठूलो मान्नुपर्यो । यही कांग्रेसको जित हो ,’ उनले भने ।
त्यस्तै नेता खतिवडाले शहीद शालिकराम घिमिरेले जनअधिकार र लोकतन्त्रको रक्षाका लागि दिएको बलिदान आज पनि प्रेरणाको स्रोत रहेको बताए। उनले शालिकरामको सम्झनामा शालिक निर्माण गर्नु उनको योगदानप्रतिको सम्मान भएको उल्लेख गरे।

‘मानिसलाई मारेर जनताको मनोबल घट्दैन, अझ बलियो हुन्छ भन्ने कुरा शहीद शालिकराम घिमिरेले प्रमाणित गर्नुभयो ,’ भने ‘ बबई गाउँपालिकामा कांग्रेसको विजयलाई पनि जनताले शहीदको योगदानप्रति देखाएको सम्मान मान्नु पर्छ ।’
खतिवडाले संविधानसभा निर्वाचनपछि अब देशमा कसैले पनि लोकतन्त्रका लागि ज्यान गुमाउन नपरोस भन्ने अपेक्षा गरिएको भए पनि हालै तराई–मधेशमा भएका घटनाले फेरि नागरिकले ज्यान गुमाउनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले शहीद घोषणा गर्ने र राहत दिने पुरानो परम्पराभन्दा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रमलाई काँग्रेस दाङका कार्यबहाक सभापति गिरिराज सुबेदी, प्रदेशका पूर्व माननीय शंकर गिरी, जिल्ला सचिव बालिका लम्साल, बबई अध्यक्ष कुलबहादुर खत्री, वडा नं. ७ का वडाध्यक्ष तिकल भण्डारी, गाँउपालिकाका पूर्व अध्यक्ष तथा एमाले नेता नेकपा एमालेका नेता भूवनेश्वर पौडेल, वडा नं. ४ का अध्यक्ष टेकबहादुर वली लगाएतले शहिर शालिकराम घिमिरेको ब्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।


