
किसान खुसी
तुलसीपुर , साउन ३ ।
तुलसीपुर उपमहानगरपालिकाले आइतबार यहाँका किसानलाई ५० प्रतिसत अनुदानमा एक सय वटा मिनी टिलर वितरण गरेको छ ।
तुलसीपुर क्षेत्र भित्र फर्म दर्ता गरेका किसान, समुह सहकारीमा आवद्ध किसान र सहकारीमा आवद्ध किसानको छनोट गरि तुलसीपुुरले किसानलाई खेत बारी जोत्न प्रयोग हुने ती मिनी टिलर किसानलाई वितरण गरेको हो ।
तुलसीपुरका मेयर टीकाराम खड्काले सहकारीमा आवद्ध रहेका तथा समुह सहकारीमा आवद्ध रहेका किसानले दिएको आवेदनका आधारमा छनोट गरि कृषकको प्रोत्सहानका लागि मिनी टिलर खरिद गरि वितरण गरिएको बताए ।
साथै मेयर खड्काले राज्यको ५० प्रतिसत लगानीमा खरिद गरि वितरण गरिएका यान्त्रिक साधनको सदुपयोग गरि आयआर्जनमा बृद्धि गर्न आग्रह गरेका थिए ।
उनले छनोटमा परि मिनी टिलर प्राप्त गरेकाहरुले बाहिर गइ ती अरु कसैलाई दिएमा वा बेचेको पाइएमा त्यस्ता माथि कारबाही हुने बताए । अनुगमनका क्रममा जस्लाई प्रदान गरिएको ती अरुक कसैले उपयोग गरेको पाइएमा फेरि नगरपालिकाले कब्जा गर्ने चेतावनी दिए ।
तुलसीपुरले किसानलाई ५० प्रतिसत अनुदानमा मिनी टिलर उपलब्ध गराउन ६० लाख बजेट बिनियोजन गरेको थियो । ती उपकरण टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको थियो । ५३ लाखमा टेन्डर स्वीकृत भइ सम्झौंता पछि ठेकेदार कम्पनीले यी साना हाते ट्याक्टर खरिद गरि ल्याएको थियो ।
जस अनुसार किसानले एउटा हाते ट्याक्टर साढे २६ हजार तिर्नु परेको थियो भने त्यति नै रकम नगरपालिकाले तिरेको थियो ।

वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले कृषीलाई प्राथमिकतामा राखेर तुलसीपुरले कम लागतमा, कम समयमै, थोरै जनशक्तिको प्रयोग गरि किसानले धेरै आम्दानी गर्न सकुन भन्ने हेतुले अनुदानमा मिनी टिलर बितरण गरिएको बताए ।
तुलसीपुर – १५ का अध्यक्ष तथा उपमहानगरको कृषी समिति संयोजक लक्ष्मण चौधरीले जबसम्म गरि खाने बर्ग किसान आधुनिक प्रबिधि संग जोडिन सक्दैनन् तबसम्म आयआर्जनमा बृद्धि नहुने र किसानको उन्नति नहुँदासम्म मुलुकको पनि उन्नति प्रगति नहुने बताए ।
नगरका कृषी शाखा प्रमुख कुलराज चौधरीले अनुदानमा वितरण गर्दा किसानले दिएका आवेदन उपर छानविन गरि फिल्डमै पुगेर वास्तबिक किसानलाई मिनी टिलर वितरण गरिएको बताए ।
त्यस कार्यक्रममा तुलसीपुर – ४ का किसान मिस्रीलाल पुन र तुलसीपुर – ८ की किसान टीका आचार्यले नगरपालिकाले ५० प्रतिसत अनुदानमा किसान छनोट गरि मिनी टिलर वितरण गरेकोमा खुसी ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।
कर्यपालिका सदस्य तथा कृषी समिति सदस्य रेखा शर्माको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण शंकर आचार्यले गरेका थिए ।



