
दाङ, साउन २० ।
बागलुङमा एक जना किशोरको साथीले नै आइफोन लुट्न कुटपिट गरि हत्या गरेको पाइएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका –१ का १७ वर्षीय लजिन थापाको मुक्का तथा ढुंगा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
थापाको हत्या घटनामा संलग्न रहेको आरोपमा १९ बर्षीय सुदीप विक, २० बर्षीय रेमबहादुर विक, १७ बर्षीय ददी परियार र १६ बर्षीय असिम वनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध यसअघि प्रहरीले व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान गरि रहेको थियो ।
प्रारम्भिक अनुसन्धान बाट थापाको आइफोन लुट्न उनीहरुले मध्य रातमा एकान्तस्थलमा लगेर कुटपिट गरि हत्या गरेको खुलेको बाग्लुङ प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
घटना बिबरण अनुसार साउन १ गते राति थापा आफ्ना साथी स्थानीय असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए । त्यहाँ लजिनसहित सात जना साथीले राति करिब साढे १० बजेदखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए ।
साउन २ गते लजिन थापाको परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।
साउन ९ गते बिहान सवा ९ बजेतिर बडिगाड गाउँपालिका –– १ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ ।
बेपत्ता थापाको खोजीका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरुको समेत सहयोगमा अनुसन्धान अघि बढाइएको थियो ।
