
दाङ , साउन १५ ।
लुम्बिनी प्रदेशमा मन्त्रीको भागबण्डा टुङ्ग्याउन नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु छलफलमा जुटेका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन सत्ता साझेदार प्रमुख दुईदल शुक्रबारदेखि छलफलमा जुटेका हुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङको देउखुरीमा जारी छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारु, पूर्वमन्त्री दिपेन्द्र पुन सहभागी छन् ।
नेकपा –एमाले) को तर्फ बाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरी , जनता समाजवादी पार्टी नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिर सहभागी छन् ।
पछिल्लो समय लुम्बिनीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक आठ मन्त्रालय कायम गरिएको छ । साउन १ गते भन्दा पहिले लुम्बिनीमा १२ मन्त्रालय थिए । अब मन्त्रालयको नयाँ संरचनाअनुसार सरकारमा सहभागी दलहरुलाई मन्त्रालयको भागबण्डा गर्न छलफल थालिएको हो ।
सरकारमा सहभागी दलहरुबीच कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । दलहरुको प्रतिनिधित्व, राजनीतिक सहमति र कार्यसम्पादन क्षमतालाई आधार बनाएर मन्त्रालयको जिम्मेवारी टुंग्याउने तयारी भइ रहेको नेताहरुले बताएका छन् ।
लुम्बिनी सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित पाँच जना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना मन्त्री छन् । मन्त्रालयको संख्या अनुसार अब नेकपाले दुई जना मन्त्री मात्रै पाउने देखिएको छ ।
साउन ९ गते केन्द्रमा एमाले र नेकपाले प्रदेशमा मिलेर जाने भन्दै भागबण्डा गरेका थिए । त्यसपछि नेपाली कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिदै मुख्यमन्त्री आचार्यलाई दिएको सथर्मन फिर्ता लिएका थिए । आचार्य काँग्रेसको समर्थनमा २०८१ साउन ७ गते मुख्यमन्त्री बनेका थिए ।
