२०८३ साउन १४ गते बिहिवार

मुख्यमन्त्रीमा चेतनारायणकै निरन्तरता

तुलसीपुर, साउन १४ ।


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने नेकपा एमालेका शिर्ष नेताहरुका बीचमा सहमति बनेको छ ।
आचार्यको सचिवालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो ।
एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलेको थियो ।
यो संगै अब लुम्बिनीमा एमाले र नेकपा बीच मन्त्रालयको वाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने आचार्यको ससचिवालयले जनाएको छ ।


मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने स्रोतले जनाएको छ ।
सहमतिअनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठन केही दिनभित्रै हुने मुख्यमन्त्री आचार्यको सचिवालयले जनाएको छ ।
हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए । त्यसपछि एमाले र नेकपाका बीचमा नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *