२०८३ साउन २ गते शनिवार

कमैया मुक्ति अभियान्ता डिल्लीबहादुर चौधरीले भने – उनीहरु फेरि दासताको चक्रमा फर्किन नपरोस

दाङ साउन २

लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३६ हजार मुक्त कमैया परिवारका लाखौँ सदस्यहरूको पूर्ण पुनस्र्थापना र उचित व्यवस्थापनमा जोड दिएका छन् ।

नेपालमा कमैया मुक्ति आन्दोलनका अगुवासमेत रहेका चौधरीले कमैया मुक्ति दिवसका अवसरमा एक शुभकामना वक्तब्य जारी गर्दै राज्यले मुक्त कमैयाहरूलाई अझै पनि सम्पत्तिमाथिको पूर्ण अधिकार दिन नसकेको र उनीहरू प्राकृतिक जोखिमयुक्त जमिनमा बस्न बाध्य हुँदै आएको प्रति भने चिन्ता जाहेर गरेका छन् ।
कमैया मुक्ति आन्दोलनमा सुरुवातदेखि नै संयोजकका रुपमा भूमिका निभएका चौधरी २६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अहिलेसम्म पनि उस्तै नै रहेको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।

विक्रम संवत २०५७ साल साउन २ मा नेपाल सरकारले कमैयाको नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णतः गैरकानुनी घोषित गरि कमैया मुक्तिको उद्घोष गरेको थियो । त्यहि दिनको स्मरणमा हरेक वर्ष साउन २ गते मुक्तिको दिवसको रुपमा मनाइन्छ।
सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ ९दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर० जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाखभन्दा धेरै मानिस बधुँवा जीवनबाट मुक्त भएका थिए । मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २६ वर्षको लक्का जवान भइसक्दा समेत साढे ३६ हजार मुक्त कमैया परिवारका लाखौ जनाको व्यवस्थापन र पुनस्थापना हुन नसकेको प्रति गम्भीर बनाएको चौधरीको भनाइ छ।
‘मुक्त भएको आज २६ वर्षपछि पनि मुक्त कमैयाहरूले राज्यबाट पाउनुपर्ने अधिकारी पाइरहेका छैनन । उनिहरूलाई एउटा शरीर लुकाउनेजति जमिनको टुक्रा दिएको छ तर त्यसमाथिको अधिकार अझै स्थापित हुन सकेको छैन। साथै मुक्त भएका कमैयाहरूलाई अझै पनि प्राकृतिक जोखिमयुक्त जमिनमा राखिएको छ,’ उनले भनेका छन ‘कमैया मुक्ति आन्दोलनका उद्गमभूमि कैलालीको गेटालगायत देशका सबै ठाउँमा कमैयाहरूको उचित व्यवस्थापन तथा दीगो रोजगारको व्यवस्थापन गर्नतिर पनि राज्यको ध्यान जान आवश्यक छ। यसका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनुपर्छ ।’

त्यस्तै उनले राज्यको वेवास्ताका कारण फेरि पनि मुक्त कमैयाहरू त्यही जीवनमा फर्किन नहुने भन्दै त्यसतर्फ गम्भीर हुन पनि सरकारलाई आग्रह गरेका छन् ।
‘राज्यको नियतिका कारण मुक्त कमैयाहरू फेरि पनि त्यही दासताको जीवनचक्रमा फर्किन बाध्य हुन नपरोस,’ उनले बक्तब्यमा भनिएको छ– ‘आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशिलता बढाउन थप प्रेरणा प्रदान गरोस भनी शुभेच्छासहित मुक्त कमैयाहरुलाई स्वरोजगार बनाउने, उनिहरुको उत्पादन र सिपलाई बजारसम्म र्पुयाउने अभियानमा कमैया आन्दोलनको अभियान्ताको हैसियतलेसंगै रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।’

दिवसका अवसरमा चौधरीले कमैया मुक्ति आन्दोलनको अगुवा तथा अभियान्ताको हकले तत्कालिन अबस्थामा सहयोग गर्ने प्रधानमन्त्री ज्यूहरु, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरु, आन्दोलन सफल बनाउन अग्रनी भूमिका खेल्ले आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालिन अवस्थामा सहयोग गर्ने रमा पराजुली, विवेक पण्डित, प्रत्यूस पन्त, आँशुतोष पराजुलीलगायत तत्कालीन मार्टिन चौतारीको समूह लगायतका संघ सस्थाहरु प्रतिको सहयोग स्मरण गर्दै आभार व्यक्त गरेका छन् ।’
त्यस्तै कमैया आन्दोलनका अगुवा तथा कमैया संघर्ष समितिका संयोजक राजदेव चौधरी, जमिन्दारको घरबाट कमैया विद्रोहको सुरुवात गर्ने कैलालीका १९ जना कमैया ‘राजदेउ चौधरी, डोंठेराम चौधरी, मायाराम चौधरी, फूलपाति चौधरी, खुसीराम चौधरी, ठग्गु चौधरी, पुनुवा चौधरी, सखुवा चौधरी, लफ्टन चौधरी, रामलाल चौधरी, रमेश मगर, गब्बरदास चौधरी, बोलबहादुर कुमाल, बिसमराज चौधरी, जोगराम चौधरी, टंकेश्वर चौधरी, पतिराम चौधरी, बुझावन चौधरी, रामबहादुर चौधरी) हरू, कानुनीरुपमा सहजीकरण गर्ने अधिवक्ता डिल्लीराज धिताल तथा आन्दोलनकारी र सरकारबीचका समन्ययकर्ता दमननाथ ढुङगाना र पद्मरत्न तुलाधर, यज्ञराज चौधरीलगायतको योगदानलाई पनि गहिरो स्मरण गरेको चौधरीले जनाएका छन ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *