दाङ , साउन १५ ।
रुकुम पश्चिम प्रहरीले हवाइ फायर गरि दुई जना युवालाई पक्राउ गरेको छ ।
प्क्राउ परेकाहरुको साथबाट करिब तीन किलोग्राम लागुऔषध अफिम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु लागुऔषध कारोबारी रहेको प्रहरीको दाबी छ ।
प्रहरीले आठविसकोट नगरपालिका –३ स्यालाखदीका २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट– २ स्यालाका २० वर्षीय गणेश वली बिहीबार बेलुकी ८ बजेतिर पक्राउ गरेको थियो ।
आठविसकोट –४ छोटे बगर क्षेत्रमा शंकाष्पद अवस्थामा हिडिरहेका उनीहरुलाई रोकेर चेकजाँच गर्न खोजेपछि बोहराले बोकेको झोलाबाट वलीले अचानक खुकुरी निकालेर प्रहरी माथि आक्रमणको प्रयास गरेका थिए ।
त्यसपछि डिउटीमा रहेका प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए ।
पक्राउ परेका दुई जना युवा माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
