२०७७ कार्तिक ९ गते आइतवार

— बा —

गोविन्द रिजाल

— बा —
छोरो जन्मेको दिन बा,
फुरुङ्ग हुनु भा थियो
छोरा जन्मिएकोमा
भुईमै खुट्टा थिएन बा को
बधाई थाप्नुको चटारो
सुत्केरीको स्याहार सुसार
छैठी न्वारान भोज भतेर
आफन्तको चहलपहल
भ्याई नभ्याई थियो बा लाई ।।

यसो अनुहार हेर्नुहुन्छ बा ले छोराेको
खै के सोच्नुहुन्छ
र मन्द मुस्कुराउनु हुन्छ
जिस्काईदिन्छ कसैले
काटिकुटी बाबू जस्तै
लजाउनु हुन्छ बा
टाउको निहुराएर ।।

विस्तारै छोरो,
हुर्किएको छ
हर्लक्कै बढेको छ
पढेको छ शहर पसेर
तर बा अझै निहुरीरहनु भएको छ
खेतका आलिमा
पाखोवारीका कान्लामा
भन्ज्याङका उकालिहरूमा
भोको पेटमा पटुकि कसेर
किनकी छोराेलाई ठुलो मान्छे बनाउनुछ
र चिनिनु छ फलानोको बा भनेर ।।

मतलब छेैन बा लाई,
आफ्नो भोकको
फुटेका पैतलाको
जवानिमै चाउरिएका गालाको
फाटेको जाँघेको
फिता टालेको हात्ती छाप चप्पलको
छाना उजाडिएको छाप्रोको
किनकी छोराेलाई ठुलो मान्छे बनाउनुछ
र चिनिनु छ फलानोको बा भनेर ।।

थाहा छ बा लाई,
यो देश ठुलाको हो
ठालुको हो
हलो जोत्नेको होईन
गफ चुट्नेको हो
त्यसैले त बा लाई पनि ठुलो हुने रहर छ
केवल एक सपना छ बा को
आफुले पूरा गर्न नसकेको सपना
ठुलो मान्छे बन्ने सपना
छोराेबाट पूरा गराउनु छ बा ले
त्यसैले त बा ले यो सब गरीरहनु भएको छ
छोराको निम्ति
किनकी बा ले छोराेलाई ठुलो मान्छे बनाउनुछ
र चिनिनु छ फलानोको बा भनेर ।।

हिजो कुनै दिन,
यही शहरमा
छोराेको छिडि कोठामा
बा आउनु हुन्थ्यो
अलिकति गुन्द्रुक लिएर
दुई माना घिउ लिएर
दुई पाथि सेरी खेतको चामल लिएर
आमाको माया नासो लिएर
पुरै गाँउको रैवार लिएर ।।

तर आज छोराे,
महलमा सरेदेखि
गाउँ विरानो भयो
बा गँँवार भए
दाजु भाई पाखे भए
आफन्त आफन्त रहेनन
दुई थान कुकुरसँग छ उस्को मित्रता ।।

हुन त बा लाई,
केही दिन वास नदिएको होईन छोराेले
महलको छिडी कोठामा
के गर्नु
कसैले सोधे बा भन्न गाह्राे मान्छ छोराेले
उसको ईज्जत घट्छ रे
साथिभाईले के सोच्लान भन्ने डर छ
छोराेको बदलिंदो व्यबहार
बुहारीको मौनता
र नाति नातिनाको नाक खुुुुुुुुुुम्चाई
सबै बुझेर पनि नबुझेझै गर्नुहुन्छ बा
किनकि छोरो ठुुुुलो मान्छे भएको छ
तर पूरा भएको छैन
बा को फलाना को बा सुन्ने रहर ।।

आज बिहान,
मन्दिरबाट फर्किदा
गेटमै एक थान बोर्ड थपिएको छ
प्रवेश निषेधको /सावधानको ।।

कुकुरदेखी सावधानको बोर्ड
गेटमै झुण्डिएदेखि
बा र घरको सम्बन्ध सकियो
रगतको नाता सकियो
बा लाई पनि प्रवेश दिएन
त्यो कुकुरले
मालिकको ईज्जत घट्ने डरले ।।

अचेल बा,
फेरी छोराेकै ईज्जत जोगाउन
बसाई सर्नु भएको छ
खोला छेउमा
र हेर्दै बस्नुहुन्छ त्यहि घर
वृद्धाश्रमको झ्यालबाट
अझेै मरेको छैन बा को
छोराेलाई ठुुुुलो मान्छे बनाउने सपना
र फलानाको बा भनेर चिनिने रहर ।।

तर छोराे,
देश बदल्ने गफ गर्छ
समाज परिवर्तनको वकालत गर्छ
सबै भन्दा जान्ने भएको अभिनय गर्छ
ठुलो मान्छे भएको अहँकारसँगै
त्यही वृद्धाश्रममा गएर
बा को एक थान तस्बिर ल्याउँछ
र मुहार पुस्तिकामा देखाउँछ
पितृभक्ती ।।

गोविन्द रिजाल ।
लेखक दाङका प्रमुख जिल्ला अधिकारी हुन ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *