हेमराज हत्याको १६ बर्ष पुरा

तुलसीपुर, साउन ६ ।
रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष देविप्रशाद धिताल (हेमराज) को हत्या भएको बुधबार १६ बर्ष पुरा भएको छ ।
चार/पाँच जनाको एक हतियारधारी समुहले २०६७ साल साउन ६ गते बेलुका सवा ७ बजेतिर हेमराजको गोली हानेर हत्या गरेको थियो ।
मोटरसाइकलमा सवार उनीमाथि राप्ती राजमार्गमै साबिक उरहरी गाविस – १२ र हालको तुलसीपुर उपमहानगरपालिका – १२ जस्पुरको प्रहरी चौकी भन्दा झन्डै पाँच सय मिटर उत्तरमा गोली प्रहार भएको थियो । त्यो हतियार धारी समुहले लखेटेर गोली प्रहार गरि हत्या गरेको थियो ।
साबिक उरहरी – ८ बेलगनारका बासिन्दा हेमराजको तुलसीपुर – ६ रजौरामा पनि घर थियो । बजार स्थित घर तर्फ आउँदै गर्दा बाटो ढुकेर बसेको हतियार धारी समुहले गोली प्रहार गरि उनको हत्या गरेको थियो । तत्कालिन समय राप्ती बस ब्यबसायी समितिका अध्यक्षसमेत रहेका हेमराज पहिलो पटक औपचारिक रुपमा राजनीतिमा होमिने तरखर गर्दै थिए ।
सोही उदेश्यका साथ उनी आफ्नो गाविस उरहरीमा रहेका नेपाली काँग्रेस नेता कार्यकर्तालाई भेट घाट तथा सर सस्लाह गरि तुलसीपुरस्थित घर फर्किदै थिए । तत्कालिन समय काँग्रेसको गाविस, नगर अधिवेशन नजिकिदै थियो । पार्टी भित्रको आन्तरिक निर्वाचनमा साबिक उरहरी गाविसबाट उम्मेदवारी दिने तयारीका साथ हेमराज अभियानमा जुटेका थिए ।
हेमराजको हत्या पछि ‘हेमराज धिताल प्रतिष्ठान’ले बर्षेनी उनको स्मृति दिवस मनाउँदै आएको छ । प्रतिष्ठानको अध्यक्ष हेमराजका ससुरा वुवा हरिप्रशाद रजौरिया छन् ।
यही प्रतिष्ठानले हेमराजको स्मृतिमा हरेक बर्ष स्मृतिमा कार्यक्रम गर्ने गर्छ ।
बुधबार हेमराज हत्याको १६ बर्ष पुगेको अवशरमा पनि त्रिशिद्धेश्वरी यातायात प्रालिको केन्द्रीय कार्यालय तुलसीपुर – ६ बरुवागाउँको प्राङगणमा स्मृतिमा कार्यक्रम भयो ।

हेमराजकी ८१ बर्षीया रेबता धितालले अहिलको सरकारले आफ्नो छोराको हत्यारा पत्ता लगाउला भन्ने विश्वास गरेकी छिन् ।
‘अहिलेको सरकार संग ठूलो आषा छ,’ रेबताले भनिन् ‘ अहिलेको सरकारले हाम्रा छोराका हत्यारा छिटो पत्ता लगाइ देवस ।’
उनले अब आउने अर्कौ स्मृति सभामा छोराका हत्यारा पत्ता लाग्यो भन्ने कुरा गर्न पाइयोस भन्ने कामना गरिन ।
छोराको हत्यारालाई पत्ता लगाइ दिएपछि आफ्नो मन शान्त हुने र सतर्क हुनपनि सहज हुने उनले बताइन । उनले भनिन् ‘ यो सरकार संग हाम्रो एउटै माग हो हाम्रो छोराको हत्यारा छिटो पत्ता लगाइदिनु ।’
रेबताका अनुसार पछिल्लो समय फेरि प्रहरी प्रशानका मानिसहरु घरमा आएर सोधपुछ गरेको तथा उनीहरुले छोराका हत्यारा छिट्टै पत्ता लगाइदिने आश्वासन दिएर गएको बताइन ।
हेमराज प्रतिष्ठानका उपाध्यक्ष तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले पनि अहिलेको सरकारले हेमराजका हत्यारा पत्ता लगाउँछ भन्ने ठूलो विश्वास रहेको बताए ।
पछिल्लो समय फेरि हेमराज हत्या काण्डको फाइलको अनुसन्धानको प्रक्रियाहरु अगाडि बढेको भन्दै उनले अब छिट्टै आफ्ना पूर्व अध्यक्ष हेमराजका हत्यारा पक्राउ गर्न प्रहरी सफल हुने बताए ।

स्वर्गिय पूर्व अध्यक्ष हेमराजकै प्रेरणाले आँफु यातायात क्षेत्रमा लागेको भन्दै नेपाली काँग्रेसका तुलसीपुर नगर सभापति समेत रहेका हमालले प्रहरी प्रशासनले बिगतदेखि नै हत्याराको नजिक पुगेको कुरा गरेपनि १६औं स्मृति दिवस मनाउँदासम्म हत्याको कारण र हत्यारा पत्ता लगाउन नसक्नु कमजोरी भएको बताए ।
अध्यक्ष हमालले जुन दिन हत्यारा पत्ता लाग्ने छन् त्यो दिन मात्रै हेमराजको आत्माले शान्ति पाउने बताए ।
त्यस्तै सोही राप्ती अंचल यातायात समितिका पूर्व अध्यक्ष प्रेमबहादुर बस्नेतले अहिलेको सरकारले हेमराजका हत्यारा पत्ता लगाउने आशा ब्यक्त गरे ।
‘ अहिलेको सरकारले ठूला – ठूला फाइल खोज्दै छ र ठूला ठूला अपराधि पत्ता लगाउँदै छ भन्ने कुरा हामीले मिडियामा सुन्दै आएका छौं,’ बस्नेतले भने ‘हाम्रा मित्र देविप्रशाद धिताल हेमराजका हत्यारा पनि यो सरकारले अवश्य पत्ता लगावस भन्ने कामना गरेको छुं ।’
त्यस्तै हेमराजका भिनाजु भरत लामिछानेले प्रत्येक बर्ष साउन ६ गतेका दिन संझना हुने र बर्षेनी घर परिवारलाइ रुवाउने काम भइ रहेको हुँदा छिटो हत्यारा पत्ता लगाउन सरकारलाई आग्रह गरे ।
‘कस्ता कस्ता हत्याराहरु त पत्ता लाग्छन् र लागेका छन् भने यो किन लुकेको छ किन छिपाइएको छ,’ लामिछानेले भने ‘ अब त नयाँ सरकार पनि आएको छ अब यस्ले केही गर्छ कि भन्ने हामीले आषा राखेका छौं ।’
हेमराज हत्याको १६ बर्ष पछि फेरि प्रहरीले घटना अनुसन्धानमा सक्रियता बढाएको छ । पछिल्लो समय फेरि प्रहरीले हेमराज हत्या काण्ड संग सम्बन्धित ब्यक्तिहरु छिट्टै पत्ता लाग्ने दाबी गरेको छ ।


