२०८१ असोज २५ गते शुक्रवार

ठेला र मेराे पहिचान

विशाल गुप्ता

पुस ३ गते मेरो जीवनको सबैभन्दा कालो दिन बन्यो। त्यो दिन, मेरो सर्वस्व, मेरो आजीविका, मेरो सपना—सबै चकनाचुर भयो।

तुलसीपुर उपमहानगरपालिकाले मेरो बदामको ठेला उठायो। त्यो ठेला मेरो पहिचान थियो, मेरो जीवनको आधार, जसबाट म र मेरो परिवारको भरणपोषण गरिरहेको थिएँ। तर, एकाएक त्यो अस्तित्व मबाट खोसियो।

त्यो दिनको खटपट अझै ताजै छ। आइतबारको जाडो मौसमा म तातो बदाम भुट्दै थिएँ। घडीले १ बजेर २३ मिनेट देखाउँदै थियो, ठेलामा १२ किलो काँचो बदाम, १५ किलो भुटेको बदाम, अनि ठूला साना पोकामा प्याक गरेर राखिएको नुन, मसला, चट्नी, सबै ठिकठाक थियो।

अझै बिहान खरिद गरेर ल्याएको ५० किलोको दाउरा र ५ किलो अमला पनि थियो, जुन साझ घरमा परिवारसँग खान्थ्यौं होला। तर, ती सबै कुरा मबाट खोसियो—एकै झट्कामा।

ठेला मेरो अमूल्य सम्पत्ति थियो। त्यो ठेला सँगै मेरो सपना थियो—नेपाली माटोमा केही गरेर जीवन चलाउने सपना। यति ठूलो सहरमा मैले त्यति सानो ठेला लगाएर म आफ्नो परिवारको भविष्य साँचिरहेको थिएँ।

तर, मेरो त्यो सानो संसार नै भत्काइयो। राज्यसत्ताले हामी जस्ता गरिबलाई हेर्ने दृष्टिकोण कहिल्यै फेरिएन। गरिबको श्रम, पसिना, र संघर्ष कहिल्यै मूल्यवान् भएन। ठेलामा राखेको बदाम भन्दा सस्तो मेरो जिन्दगीको मूल्य बनाइयो।

मलाई लाग्थ्यो, यो समाजले कहिल्यै बुझ्दैन कि यो ठेला मात्र साधन होइन, मेरो पहिचान हो। मेरो संघर्षको कहानी हो। म गरिखाने मान्छे, मैले मज्दुरी गरेर सम्मानपूर्वक जिउन खोजेको थिएँ। तर, यहाँको व्यवस्थाले मलाई जिउन दिएन। गरिबले गरेको संघर्ष यहाँको शासक वर्गलाई कहिल्यै चित्त बुझ्दैन।

अनि यो सोच्दैछु—कस्तो दिन आयो सरकार! मेरो ठेला उठाएर के जित्यौ? ठेलामा भएका १८ पोका बदाम, ३०० ग्रामका पोकाहरू, मसाला, नुन र चट्नी—यी त साना चीज हुन्।

तर, मेरो मनमा लागेको चोटको मलम कहिल्यै लगाउन सकिएला? के राज्यले कुनै दिन सोच्ला कि यो सानो ठेला मेरो जीवनको प्रतीक थियो?

मैले हिम्मत हारिनँ। अझै पनि म आशावादी छु कि कुनै दिन न्याय हुनेछ। म आफ्नो ठेला फिर्ता चाहन्छु, जसमा मेरो पसिना, मेहनत, र सपना समावेश छ। सरकारलाई यो अनुरोध छ, मेरो ठेला फिर्ता गरिदेउ। त्यो ठेला फिर्ता पाए, सायद म फेरि आफ्नो जिन्दगी सम्हाल्न सकूँला।

तर, त्यो दिन कहिल्यै पनि नआए, मेरो सपना भने सदैव बिसर्जित हुनेछ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *