२०८३ असार १० गते बुधवार

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक – गगन थापा

रूपन्देही, जेठ १८ ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले त्यस्तो बताएका हुन । ‘हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसदमा पठाएका होइनन्,’ उनले भने ‘ त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ ।’
प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले उक्त अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताए । त्यस्तै उनले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए ।
‘सरकारले राम्रो काम गर्दा सघाउने र गलत काम गर्दा खबरदारी गर्ने वा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म हो, र त्यो जिम्मेवारी काँग्रेसले निर्वाह गर्छ,’ सभापति थापाले भने । प्रधानमन्त्री शाहलाई यस विषयमा माफी नमागी जनताले नछाड्ने उनको दाबी थियो ।
सभापति थापाले संसदबाट जबरजस्ती प्रतिनिधि सभा नियमावली २०८३ पारित गरिएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए । सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उनले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *