
दाङ, असार १० ।
गुल्मीमा मदिराले मातेका श्रीमानको कुटपिटबाट घाइते श्रीमतिको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ बर्षीया श्रीमति मुना कुमाललाई दाउराको चिर्पट लगाएतले प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।
मंगलरबार राति साढे ११ बजेतिर भएको यो घटना बारे प्रहरीले भने बुधबार बिहान साढे ७ बजेतिर मात्रै सुचना पाएको थियो । सूचना पाए पछि प्रहरी चौकी धनार्जे सुचना प्राप्त हुनासाथ बरिष्ठ हवल्दार जगनारायण केवटको नेतृत्वमा खटिएको टोलीले उद्धार गरी घाइते मुनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो । उनको उपचारका क्रममा बुधबार बिहान १० बजेतिर जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी भिमकिरण बोगटीले हत्या गरेको आरोपी श्रीमान यमबहादुर प्रहरीले नियन्त्रणमा रहेको बताए । जिल्ला प्रहरी प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक बिबेक घलेको नेतृत्वमा प्रहरी टोली घटना बारे थप अनुसन्धान गर्न खटिएको छ ।
