२०८३ असार १० गते बुधवार

तुलसीपुर – घोराही चार लेन सडक बिस्तारको काम ७ महिनामा कति भयो ?


तुलसीपुर, असार १० ।
गत मंसिरदेखि सुरु भएको तुलसीपुर – घोराही सडक बिस्तारको काम ७ महिनाको अबधिमा भौतिक प्रगति १६ प्रतिसत पुगेको छ । बित्तीय प्रगति १० प्रतिसत छ ।

जिल्लाका प्रमुख दुई सहर तुलसीपुर र घोराही बीचको २१ दशमलव ५८ किलोमिटर सडक कालोपत्रेको काम पछिल्लो समय गत मंसिर १ गतेदेखि भौतिक रुपमा सुरु भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा चोकदेखि घोराही उपमहानगरपालिका –१५ को डिके पेट्रोल पम्पसम्मको झन्डै साढे २१ किलोमिटर सडक चारलेनको रुपमा बिकास गर्नका लागि धमाधम काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार बितेको सात महिनाको अवधिमा सडक निर्माण कार्यमा १६ प्रतिसत भौतिक प्रगति भएको छ ।
पछिल्लो समय यो सडक स्तरोन्नतिको जिम्मा २०८२ असार २४ गते काठमाडौंस्थित दिवा–बन्दन भगवती जेभीले पाएको छ ।
उस्ले २ अर्ब ५३ करोड रुपैयाँ लागतमा सडक निर्माण गर्ने गरि सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेभित्र सडक निर्माणको काम पुरा गरि सक्नु पर्ने छ ।
कार्यालय प्रमुख विष्टका अनुसार ३० मिटर चौडाइको सडक कालोपत्रे गर्ने क्षेत्र बाहेक सडकको दायाबायाँ करिब १४ किलोमिटरसम्म माटो कटानको काम पुरा भइ सकेको छ ।
हालसम्म घोराहीको रतनपुरदेखि बेलझुण्डीसम्म ३७ वटा बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा छन् । १४ वटा कल्र्भट निर्माणको अन्तिम चरणमा पुगेका छन । ३ वटा स्ल्याब कल्भर्ट निर्माणाधिन छन् । कल्र्भट निर्माणको काम सकिएपछि ग्राभेलको काम सुरु गर्ने निर्माण पक्षको तयारी छ ।
कार्यालय प्रमुख बिष्टका अनुसार घोराहीको रतनपुरदेखि तुलसीपुरको बेलझुण्डीसम्म कल्भर्ट, नाला, वाल निर्माणसँगै माटो कटिङको काम तीब्र गतिमा भइ रहेको छ ।
कार्यालय प्रमुख विष्टका अनुसार हालसम्म खैरा, दुधरास, सौँडीकुला र नारायणपुर क्षेत्रको ३ किलोमिटरसम्म नाला निर्माण सकिएको छ ।

निर्माण कम्पनीले बेलझुण्डीमा क्याम्प स्थापना गरि नाला निर्माण गरिरहेको छ । निर्माण कम्पनीसँग थप साडे २ किलोमिटर नाला तयारी अवस्थामा मौजात छ । तयारी अवस्थाका नालालाई सडकमा स्थापना गर्ने कार्यपनि जारी छ ।
सडक निर्माणका लागि दैनिक ४० वटा निर्माण उपकरण तथा साधन परिचालन गरिएका छन् ।
एक्सकाभेटर, ग्रेडर, रोलर, ब्याकहोलोडर, टिप्पर, ट्रेलर, क्रेन, ट्याक्टर, डोजर र ह्विल लोडरसमेत गरि ४० वटा निर्माण उपकरण तथा सवारीसाधन परिचालन गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै निर्माण कम्पनीले मोबाइल क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वासर, अस्फाल्ट प्लान्ट तथा कङ्क्रिट ब्याचिङ प्लान्ट निर्माण स्थलमा स्थापना गरेको छ ।
सडक क्षेत्रमा पर्ने भौतिक संरचना, विद्युत पोलसँगै रुखहरू हटाउनु पर्दा सुरुवाति दिनहरुमा काममा केही ढिला सुस्ता भएपनि अब सडक विस्तारको कामले थप गति लिने प्रमुख बिष्टले आशा गरे ।
हालसम्म तुलसीपुरको दुधरासदेखि घोराहीसम्म विद्युत र रुख लगाएत भौतिक संरचना हटाइ सकिएको छ । हाल घोराहीको रतनपुरदेखि गुर्जे खोलासम्मको सडक खण्डमा बाँकी रहेका विद्युतका पोल स्थान्तरणको गर्ने काम जारी रहेको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *