तुफानबाबु श्रेष्ठ, तुलसीपुर, चैत २७ । उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञान ज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थी संग शुक्रवार न्यायीक संवाद कार्यक्रम गरिएको छ ।
‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका उपरजिस्ट्रार मानबहादुर बिष्टले बताए ।
न्यायाधिश ऋषिराम दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यायाधिस रमेशराज पोखरेलले न्याय संपादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा उच्च अदालतको सेवा प्रवाहबारे अबगत गराएका थिए ।
कार्यक्रममा अदालतका रजिस्ट्रार यमबहादुर बुढामगरले न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भइरहेको बताए ।
न्यायालयबारे नागरिकका धारणा, सुझाव ग्रहण गर्न साथै न्यायालयका प्रक्रिया र अवस्थाबारे जानकारी गराउन विभिन्न गतिविधि सञ्चालन भइरहेको उनले बताए ।
विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले न्यायाधिशहरु संग विध्यार्थीले यसरी अन्तर्कृया गर्न पाउँदा उनीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताए ।
कार्यक्रमको सहजीकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत भुपाल भण्डारीले गरेका हुन ।