
दाङ, असार २४ ।
सुर्खेतस्थित कर्णाली नदीमा फेरि एउटा शब फेला परेको छ ।
जिल्लाको चौकुने गाउँपालिका –४ डङ्डगेस्थित कर्णाली नदीको छालमा दिउँसो ४ बजेतिर अन्दाजी १८/१९ बर्षीया महिलाको शब फेला परेको हो ।
शबको सनाखत भइ सकेको छैन । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालाखेतका लागि पठाइएको छ ।
प्रहरी निरीक्षक यादवले बुधबार फेला परेको शब असार १८ गते दैलेखको पाल्तडा दुर्घटना सँग सम्बन्धित रहे वा नरहेको बारे थप अनुसन्धान भइ रहेको छ ।
दैलेख दुर्घटनामा परि कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी १८ वर्षीया सिर्जना खड्कापनि बेपत्ता छिन् । उनको शब हुन सक्ने आशंकामा घर परिवारलाई खबर गरिएको र उनका अभिभावक बिहीबार सुर्खेत आउने प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
असार १८ गते बिहान सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रु बाहक फोर्स गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ पाल्तडाबाट झन्डै ४०० मिटर मुनी कर्णाली नदीमा खसेको थियो।
बेपत्ताहरुको खोजी कार्य जारी छ ।
उक्त गाडी दुर्घटनामा परी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी र सहचालक समेत रहेका उनका दाइ अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको अवस्था पनि हालसम्म अज्ञात नै छ ।
सोही दुर्घटनामा परि बेपत्ता मध्यका कालीकोट पाचल झरना गाउँपालिका– ९ का ६२ वर्षीय मेखे तिरुवाको शब कैलालीस्थित कर्णाली नदी किनारमा फेला परेको थियो ।
सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा उनको शब शव फेला परेको थियो।
त्यसअघि गाडी दुर्घटना भएकै दिन असार १८ गते दिउँसो भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवाको शब फेला परेको थियो ।