
दाङ, असार २७ ।
दैलेख गाडी दुर्घटनामा परी बेपत्ता मध्य सहचालकको शब शनिबार फेला परेको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका गाडीका सहचालक अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको शब अछामको तुर्माखाँद गाउँपालिका –२ जमगडास्थित कर्णाली नदीमा फेला परेको थियो ।
शनिबार बिहान ७ बजेतिर नदी किनारमा फेला परेको शबको सनाखत उनका बुवाले दिउँसो सवा ३ बजेतिर गरेका थिए ।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार बिश्वकर्माका अनुसार अब गाडीका चालक अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन् । बेपत्ता चालक र शनिबार मृत फला परेका सहचालक सहोदर दाजु भाइ हुन ।
यसअघि मंगलबार सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा दिउँसो ४ बजेतिर फेला परेको शव कालीकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी १८ वर्षीया सृजना खड्काको रहेको खुलेको थियो । बिहीबार बेलुकी साढे ६ बजेतिर सुर्खेत जिल्ला अस्पताल कालागाउँमा गई बुबा धनबहादुर खड्काले सृजनाको शवको सनाखत गरेका थिए ।
सोही दुर्घटनामा परी बेपत्तामध्येका कालीकोट पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरूवाको शव सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा फेला परेको थियो। मंगलबार उनको शवको सनाखत गर्न परिवारका सदस्यले गरेका थिए ।
गाडी दुर्घटना भएकै दिन असार १८ गते दिउँसो भीरमा अड्किएको अवस्थामा कालीकोटको पचालझरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवाको शव फेला परेको थियो। मृतक मेखे र जेखे साढु–दाजुभाइ हुन ।
तीन जनाको शब भने दुर्घटना स्थल भन्दा धेरै टाढा अछाम, सुर्खेत र कैलालीमा बगाएर लगेको अवस्थामा फेला परेका हुन ।
असार १८ गते बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रु वाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडाबाट झन्डै ४०० मिटरमुनि कर्णाली नदीमा खसेको थियो।
दुर्घटना भएकै दिनदेखि बेपत्ताहरूको खोजी गोताखोरहरूले निरन्तर गर्दै आएका छन । खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिँदै आएका छन । हालसम्म कर्णालीमा खसेको गाडी पनि फेला पर्न सकेको छैन ।