२०८३ असार २१ गते आइतवार

मध्यराति हिलोसहितको बाढी घरमा पस्दा एक जनाको मृत्यु, ४ जना घाइते

दाङ, असार २१ ।
डोल्पामा हिलोसहितको बाढी घरमा पस्दा एक जना महिलाको मृत्यु भएको छ । थप ४ जना घाइते भएका छन् ।
जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको मृत्यु भएको हो ।
आइतबार बिहान करिब ३ बजेतिर आएको बाढी घरहरूमा पस्दा सुतिरहेको अवस्थामा उनी पुरिएकी थिइन । जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

यो घटनामा स्थानीय ४४ वर्षीया रेउली विक गम्भीर घाइते छिन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेको हुँदा थप उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएको डिएसपी गिरीले बताए ।

घटनामा परि ६० वर्षीया जस विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक लगाएत घाइते छन् । उनीहरु उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
साथै मृतकका आफन्त पर्ने ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनाको तनावका कारण बेहोस भएका थिए । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी दिए ।
प्रारम्भीक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट भएको क्षतिको विवरण संकलन भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *