
दाङ, असार २२ ।
कैलालीस्थित कर्णाली नदीमा सोमबार बिहान दुई जनाको शब फेला परेको छ ।
फेला परेका मानिसहरु असार १८ गते दैलेख दुर्घटनामा परेका ब्यक्तिहरु हुन सक्ने आशंका गरिएको छ ।
सोमबार बिहान कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदीमा अन्दाजी ३०–३५ वर्ष उमेरको एक जना पुरुष व्यक्तिको नाङ्गो शव पानीमा उत्तानो अवस्थामा फेला परेको हो । सोल्टा इलाका प्रहरी कार्यालय सुगरखालदेखि नजिक पर्छ ।
त्यस्तै बिहान १० बजेतिर लम्कीचुहा नगरपालिका – ३ चिसापानीस्थित गोराङ्गेस्थित कर्णाली नदीमा एक जना अन्दाजी १७– १८ बर्षीया महिलाको शब नाङ्गो अवस्थामा फेला परेको छ । यो घटनास्थल इलाका प्रहरी कार्यालय चिसापानीदेखि नजिकमा पर्छ । कैलालीका प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिानले फेला परेका दुई शबहरु दैलेख दुर्घटना पछि नदीले बगाएर त्यहाँ ल्याएको हुन सक्ने अनुमान भइ रहेको बताए । त्यसको औपचारिक रुपमा पुष्टि हुन भने बाँकी नै छ ।
सुर्खेतमा प्रहरी प्रबक्ता डिएसपी कबिन्द्र बोहराले पनि फेला परेका ब्यक्तिहरु दैलेखस्थित कर्णाली नदीमा खसेको गाडीका यात्रुहरु हुन सक्ने आशंकासहित उनीहरुको हुलिया कैलाली पठाइएको जानकारी दिए ।
असार १८ गते बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो ।
त्यो दुघद्र्धटनामा परि गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका अन्दाजी २८ बर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका सहोदर दाइ अन्दाजी ३१ बर्षीय रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी अन्दाजी १८ बर्षीया सिर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिक– ९ का मेखे तिरुवा बेपत्ता छन् ।
सोही दुर्घटनामा क्रममा भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरूवा मृत अवस्थामा फेला परेका थिए । आज उक्त दुर्घटनाको सोमबार ५औं दिन हो । उनीहरुको खोजी कार्य जारी छ ।