
अब दुई दाजु भाइ फेला पर्न बाँकी
दाङ, असार २५ ।
दैलेख गाडी दुर्घटनामा परि बेपत्ता अर्का एक जनाको शबपनि फेला परेको छ ।
सुर्खेतको चौकुने गाउँपालिका –४ डङ्डगेस्थित कर्णाली नदीको छालमा बुधबार दिउँसो ४ बजेतिर फेला परेको शब कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी १८ वर्षीया सिर्जना खड्काको रहेको खुलेको हो ।
बिहीबार बेलुकी साढे ६ बजेतिर सुर्खेत जिल्ला अस्पताल कालागाउँमा गइ बुवा धनबहादुर खड्काले सृजनाको शबको सनाखत गरेका हुन ।
धनबहादुर कालीकोटस्थित घरबाट सुर्खेत आएर शबको सनाखत गरेका थिए । यो संंगै दैलेख दुर्घटनामा बेपत्ता मध्य हालसम्म दुई जनाको शब फेला परेको छ ।
सोही गाडी दुर्घटनामा परि बेपत्ता मध्यका कालीकोट पाचल झरना गाउँपालिका– ९ का ६२ वर्षीय मेखे तिरुवाको शब सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा फेला परेको थियो । मंगलबार उनको शबको घर परिवारका सदस्य आइ सनाखत गरेका थिए ।
उनी भन्दा पहिले गाडी दुर्घटना भएकै दिन असार १८ गते दिउँसो भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवाको शब फेला परेको थियो । मृतक मेखे र जेखे साढु– दाइ साढु भाइ हुन ।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार बिश्वकर्माका अनुसार अब गाडी दुर्घटनामा परेका मध्य अब सहोदर दाजु भाइ मात्रै फेला परेका छैनन् । सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका गाडीका चालक अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी र उनका सहोदर दाई तथा गषडीका सहचालक अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको अवस्था हालसम्म अज्ञात छ । घटना भएकै दिनदेखि बेपत्ताहरुको खोजी गोताखोरहरुले निरन्तर हुँदै आएको छ ।
हालसम्म गाडी पनि फेला पर्न सकेको छैन ।
असार १८ गते बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रु बाहक फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ पाल्तडा बाट झन्डै ४०० मिटर मुनी कर्णाली नदीमा खसेको थियो ।