
तुलसीपुर, मंसिर २१ ।
स्थानीय जनताको माग अनुसार तुलसीपुर उपमहागरपालिका १८ को दुधरासमा ’दुधरास एक्चेन्ज’ नामक चेक प्वाईन्ट राखी दूर सञ्चारको कार्यालय तुलसीपुरले १ सय ४४ टेलिफोन लाईनहरु वितरण गर्न लागेको जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका १८ को विशेष अनुरोधमा टेलिकमले उक्त लाईनहरु वितरण गर्न लागेको हो । टेलिकम र वडा कार्यालयको समन्वयमा हुन लागेको टेलिफोन वितरण कार्यले वडा नं १७ को बघौसी क्षेत्रका बासिन्दाहरु पनि लाभान्वित हुने तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले बताए ।
शुक्रबारदेखि टेलिफोन जडान कार्य सुरु हुने र टेलिफोन जडान गर्नका लागि ईच्छुक उपभोक्ताहरुले नेपाली नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साईजको फोटो र निवेदन अनिवार्य रुपमा टेलिकमको कार्यालयमा बुझाउनुपर्ने र कुनै संघ संस्था वा फर्मको हकमा भने फर्मको दर्ता नम्बर , दर्ता नवीकरणको प्रमाण र निवेदन हुनुपर्ने तुलसीपुर टेलिकमका लेखा अधिकृत खुसीराम सेडाइले जानकारी दिए ।
दुई सय मिटरसम्म उक्त लाईनले टेलिफोन र ईन्टरनेट सेवा दिने र शुक्रबारबाट प्राविधिकहरु दुधरास र त्यस क्षेत्रको आसपासमा रहि काम गर्ने भएकाले आवश्यक जानकारी पनि उनीहरुसँग लिन सकिने लेखा अधिकृत सेडाईले जानकारी दिए ।
