२०८३ मङ्सिर ९ गते मङ्गलवार

प्रधानमन्त्री शाहले भ्रमणका क्रममा नेपालको मिचिएको सीमा बारे कुनै एजेण्डामा छलफल नगर्नु दुःखद – शंकर पोखरेल


तुलसीपुर, मंसिर ८ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि नेपालको मिचिएको सीमानाका बारेमा कुनै कुरा एजेण्डका रुपमा नउठाएको प्रति चिन्ता जाहेर गरेका छन् ।
प्रेस चौतारी नेपाल दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर बसेको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा भने प्रधानमन्त्रीले सीमा र ऐतिहासिक सन्धिसम्बन्धी विषय कुनै नउठाएको बताए ।

‘ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले कम्तिमा नेपालका मिचिएका सीमाहरुका सन्दर्भका बारेमा छलफलको बिषय एजेण्डा बनाउनु हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने ‘ ग्रेटर नेपाल बनाउनु हुन्छ भन्ने कुरा त कल्पनाको बिषयपनि होइन , संयुक्त राष्ट्र संघको जन्म हुनुभन्दा पहिलेको भूभाग फिर्ता गर्ने भन्ने कुरा नेपाल जस्तो मुलुकका लागि असंभव कुरा हो ।’
तर, प्रधानमन्त्री शाहले मेयर छँदा त्यो असंभव कुरालाई भवनामा खेल्ने कोसिस गरेको उनको आरोप थियो ।
१८१६ को सुगौली सन्धिले निर्धारित गरेको सीमाको रक्षा गर्ने सवालमा प्रधानमन्त्रीबाट पहल हुनुपर्नेमा त्यो हुन नसक्नु तथा त्यो बिषयको छलफलमा प्रबेश नै नगर्नु बिडम्बना मान्नु पर्ने एमाले महासचिव पोखरेलले बताए ।
‘ एउटा प्रधानमन्त्रीको रुपमा मुलुकको प्रमुख चासोको बिषयमा कुरा नउठाउनु उहाँ चुक्नु भएको देखिन्छ,’ पोखरेलले भने ।
त्यस्तै उनले १९५० को सन्धिको पुनराबलोकन गर्ने सम्बन्धमा प्रधामन्त्री केपी शर्मा ओलीको पालामा दुई देशका बीचमा गठित प्रभुत्व समुहले तयार पारेको (इपिजी) रिसोट पहिले भारतिय पक्षले बुझ्ने र त्यसपछि नेपाली पक्षले बुझ्ने भन्ने नाममा हालसम्म पनि भारतिय पक्षले नबुझेका कारणले गर्दा हालसम्म थन्किएर बसेको भएपनि त्यसबारे प्रधानमन्त्री शाहले कुनै कुरा नउठाएको उनको आरोप थियो ।
‘त्यो बिषय नेपाल भारत सन्दर्भलाई आजको धरातलमा समान ढंगले उभ्याउने कुराको महत्वपूर्ण दस्ताबजे हो , त्यो दस्ताबेजलाई बैधानिकता दिने कुरा त्यसका आधारभूत कुरालाई नयाँ ढंगले परिभाषित गर्ने कुरामा ध्यान जान्छ कि भन्ने अपेक्षा थियो त्यसमा पनि उहाँ प्रबेश गर्न सक्नु भएन ,’ पोखरेलले भने ।
कार्यक्रम प्रेस चौतारी नेपाल दाङकी अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको थियो कार्यक्रमको सहजीकरण उनका श्रीमान तथा एमाले दाङका प्रचार बिभाग प्रमुख संगित बस्यालले गरेका थिए ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *