२०७७ कार्तिक ८ गते शनिवार

‘हामी मरेपछि कुसुन्डा भाषा पनि हराउँछ’, कुसुन्डा भाषा लोप हुने चिन्ता

शुक्रबार बेलुका साढे ५ बजेतिर हामी कुलमोड गाउँस्थित घरमा पुग्दा उनी एक्लै जडीबुटीबाट औषधि बनाउन तल्लिन थिइन्। उनले आफैं जंगलबाट यो जडीबुटी खोजेर ल्याएकी हुन्।

‘घाँटी समात्या छ, स्वाँ: स्वाँ: हुन्छ, त्यही भएर औषधि बनाउन लागेकी,’८१ वर्षीया ज्ञानीमैंया कुसुन्डाले भनिन् ।

६/७ वर्षको उमेरदेखि ज्ञानीमैंया कुसुन्डाले बिँडी खान थालिन्।

‘वनको राजा’ मानिने कुसुन्डा जाति त्यतिबेला जंगलमा घुमन्ते जीवन व्यतित गर्थे। उनीहरूको स्थायी घर हुँदैन्थ्यो।

ज्ञानीमैंया पनि जंगलमै जन्मिइन् र जंगलमै हुर्किइन्। पानी पर्दा होस् वा चिसोबाट जोगिन उनका बाबुले नै ज्ञानीमैंया सानो छँदा ‘मुटु न्यानो हुन्छ’ भन्दै बिँडी खान सिकाए। उनले त्यो लत अहिलेसम्म त्याग्न सकेकी छैनन् ।

सानै उमेरदेखि बिँडी खाएकोले अहिले आफूलाई स्वाँ:स्वाँ: हुने गरेको ज्ञानीमैंयालाई ज्ञान छ। तर आफूले बनाएको जडिबुटीले त्यो सञ्चो हुन्छ भन्ने दृढ विश्वास पनि ज्ञानीमैंयालाई उत्तिकै छ ।

ज्ञानीमैंया आफू र आफ्ना सन्तान बिरामी हुँदा यस्तै जडिबुटी खुवाउँछिन्। तर अलि ज्वरो आउँदा भने अस्पतालको औषधि पनि खाने गरेको उनले बताइन्। ‘चिन्ने आँखा चाहियो, जंगलमा कति छ कति जटीबुटी, बजारको ओखतीले त झनै शरीर गलाउँछ,’ ज्ञानीमैंयाले भनिन्।

घोराही–लमही सडकखण्ड अन्तरगतको अर्जुन खोला किनारमा अवस्थित कुलमोड गाउँमा ज्ञानीमैंयाको घर छ। यो घर सरकारले नै बनाइदिएको हो। लमही नगरपालिका वडा नं. ६ को कुलमोड गाउँ जान पूर्व–पश्चिम राजमार्गदेखि झन्डै एक किलोमिटर उत्तरतर्फ घोराही जाने बाटोको यात्रा गरे आइपुग्छ।

ज्ञानीमैंया कुसुन्डा र उनकी बहिनी कमला कुसुन्डाबाहेक अहिले कसैले पनि यो भाषा बोल्दैनन्।

उनीहरूले बाबु आमाबाटै कुसुन्डा भाषा सिकेको भए पनि अरु दाजुभाइ र दिदी बहिनीले यो भाषा सिक्न सकेनन्।

‘अहिलेसम्म हामीले पूर्खाको सम्पत्ति जोगाएका छौं जस्तो लाग्छ, तर हामी मरेपछि यो भाषा हराउँछ भन्ने चिन्ता छ,’ ज्ञानीमैंयाले भनिन्।

अबको पुस्ताले कुसुन्डा भाषालाई उल्टो भाषा भन्दै सिक्न चासो नदिने गरेको भन्दै ज्ञानीमैंयाले दुःख व्यक्त गरिन् ।

ज्ञानीमैंयालाई चिन्नेहरू कुसुन्डा भाषाको विश्वविद्यालय भन्नु उपयुक्त हुने धारणा राख्छन्। उनीसँग कुसुन्डा भाषाको ठूलो संग्रह छ। त्यो बुझेकाहरू उनको बारेमा सिनेमा बनाउँछौं र किताब लेख्छौं भन्दै घरमै आएका छन्।

काठमाडौंका भाषाविद्हरूले कुसुन्डा भाषालाई संरक्षण र संवर्द्धन गर्न बोलाइरहेको उनले सुनाइन्।

भाषा सिक्न चाहनेहरूलाई उनले बुटवल र काठमाडौं पुगेर कुसुन्डा भाषा सिकाएको अनुभव साटिन्।

‘केही वर्ष पहिलेमात्रै काभ्रेपलाञ्चोकका भोजराज (बाहुनका छोरा)ले ६ महिना यहाँ बसेर कुसुन्डा भाषा सिकेर फर्के,’ ज्ञानीमैंयाले भनिन्।

अरु समुदायले लोपोन्मुख कुसुन्डा भाषा सिक्न खोजिरहेकाबेला उनका आफ्नै सन्तानले भने त्यसको मतलब गर्दैनन्।

उनीहरू कुसुन्डा भाषा बोल्न पनि जान्दैनन् न नै सिक्न चासो दिन्छन्।

कुसुन्डा भाषामा कुरा गर्ने मान्छे नपाउँदा सपनामा भए पनि ज्ञानीमैंया एक्लै बोल्ने गरेको सेतोपाटीसँग आफ्ना अनुभूति बाँडिन्।

कुराकानीको अन्त्यमा बिँडीको लामो सर्को तान्दै ८१ ज्ञानीमैंयाले भनिन्, ‘मैले धेरैलाई सिकाउन खोजे तर सिकेनन्, आज आएर कुसुन्डा भाषा लोप हुन थाल्यो भन्ने सबैले चिन्ता व्यक्त गरिरहेका छन्।’

उनले धेरैले लेखेर राखेको भए पनि लेखेको कुरा बोल्न संभव नहुने तर्क गरिन्। ‘लेखेको कुरा हेरेर बोल्न खोजेर पनि हुन्छ, त्यसरी कसरी भाषा बच्छ?’ उनले प्रश्न गरिन्।

कुसुन्डा भाषा जीवत नै राख्ने हो भने अब तत्कालै बालबालिकालाई त्यो सिकाउन आवश्यक रहेको उनको भनाइ छ।

‘उमेर ढल्लेकाहरूलाई सिकाएर काम लाग्दैन, उनीहरूले जान्दै जान्दैनन्,अब बच्चालाई सिकाउनुपर्छ,’ ज्ञानीमैंयाले भनिन् ।

उनले राज्यले एउटा भाषा लोप हुने अवस्थामा पुग्दा समेत त्यो संरक्षणको लागि उचित पहल नथालेकोप्रति दुःख व्यक्त गरिन्।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *