खेमराज रिजाल,
दमारगाउं(तुलसीपुर), माघ २८ । शाला भेनाको पार्टनरमा तुलसीपुर उपमहानगरपालिका—१३ दमारगाउंमा एउटा लोकल कुखुराको ह्याचरी सहित पोल्ट्रीफर्म सन्चालनमा आएको छ । फिलिफिन्सबाट एमविविएस उत्तिर्ण डा राजन केसी र उनकै भेना काभ्रे जिल्ला निवासी रामकुमार अधिकारीको संयुक्त लगानीमा यो फर्म सन्चालनमा आएको छ । यस फर्ममा हाल सम्म कम्तिमा सवा दुइ करोड लगानी भैसकेको सन्चालकले बताएका छन् । अझै कम्तिमा आधा करोड रुपैया लगानी बढाउने उनीहरुको लक्ष छ ।
नेपालभरी बढिमा दश जना मुख्य कुखुरा व्यवसायीको सिन्डिकेटका कारण साना व्यवसायीहरु धरासायी बन्दै गएको अवस्थामा त्यसलाइ व्यवस्थथापन गरी स्थानिय किसानहरुको समेत आयस्तर बृद्धि गर्ने उदेश्यले फर्म सन्चालन गरीएको डा राजन केसीले बताए । त्यसकालागी दाङमै पहिलो पटक लोकल कुखुराको ह्याचरी सहित चल्ला समेत विक्रि वितरण गर्न उद्योग सन्चालन गरीएको हो ।
उनीहरुले फर्मको नाम राइसा ह्या्चरी एण्ड पोल्ट्री फर्म राखेका छन् । साढे तीन विगाहाको क्षेत्रफल भएको जग्गामा कुखुराको चरनको समेत व्यवस्थापन गरीएको छ । विसुद्ध रुपमा अर्गानिक चल्ला उत्पादनकालागी यो अभियान सुरु गरेको सन्चालकहरुको अभिव्यक्ति छ ।
लोकल कुखुराले दिएको अण्डाबाट चल्ला उत्पादनगर्न उनीहरुले दुइवटा अत्याधुनिक वातानुकुलित मेसीन राखेका छन् । सत्र हजार अण्डा अटाउने एउटा सेटर मेसीन छ । सो मेसिनमा भर्खरै पारेको अण्डा राखिन्छ । अर्को त्यस्तै ह्याचर मेसीन छ, त्यसमा अण्डा राखेको ७२ घण्टापछि चल्ला निस्कन्छन् ।
यी मेसिनबाट हप्तामा ४ हजार चल्ला निस्कन्छन् । अण्डाबाट औषत ९७ प्रतिसत स्वस्थ चल्ला निकाल्न सफल भएको अर्का सन्चालक रामकुमार अधिकारीले बताए । अधिकारीका अनुसार चल्लाको मुल्य उमेर अनुसार हुन्छ । तर खानकालागी तयार भएका चल्लाको खुद्रा मुल्य ५ सय ५० रुपैया प्रतिकेजी छ । अहिले उत्पादन भएका चल्ला उनीहरुले दाङ, रोल्पा, रुकुम सल्यान देखि पश्चिममा कन्चनपुर सम्म पनि पु¥याउने गरेका छन् ।
त्यसो त शाला भेनाले विभिन्न विदेशि कुखुराहरु समेत पालेका छन्, तर केहि नमुनाकालागी मात्र । कारण ती कुखुराबाट क्रस व्रिडिङ गराउनकालागी । एक जोडी भालेपोथीको ३५ हजार मुल्य तिरेर उनीहरुले विदेशी कुखुरा पनि ल्याएका छन् । ल्याएको भालेपोथीबाट क्रसव्रिडिङ पनि सुरु भैसकेको छ । चल्लालाइ खुवाउने दाना पनि उनीहरुले स्थानिय दानाको अभ्यास गरीरहेका छन् । चरनबाट नपुग्ने चल्लालाइ ब्रोइलरको केहि दानामा धान मकै मिसाएर खुवाउने गरेका छन् । चल्लाको नियमित स्वास्थ्य परीक्षण भेटनरी चिकित्सकबाट भैरहेको छ । स्याहार सुसार गर्ने महिला पनि भेटनरी प्राविधिकलाइनै राखेका छन् । आफु लगानीकर्ता दुइ जना वाहेक ४ जनालाइ रोजगारी पनि दिएका छन् ।
नेपालबाट लोकल कुखुरा लोपहुनै लाग्दा यो व्यवसाय सुरु गरेको सन्चालक रामकुमारले बताए । आफुले मात्र नभएर यो अभ्यास स्थानिय महिला समुहलाइ पनि गराउने तरखरमा छन् । ‘पहिलो पटक गाउंका महिला समुहलाइ आठ÷दशवटा चल्ला निशुल्क उपलव्ध गराउने छौं, उनीहरु पनि यसमा सफल भएर व्यवसायीक बन्न चाहे बल्ल शुल्क लिएर आवस्यकता अनुसारका चल्ला उपलव्ध गराउने छौं’—रामकुमार भन्छन्, स्थानिय अर्थतन्त्रमा पनि हाम्रो फर्मले केहि दायित्व निर्वाह गर्न सकोस ।
उनीहरुलाइ यो फर्म सन्चालनकालागी नेपाल सरकारबाट जम्मा १२ लाखरुपैया अनुदान प्राप्त भएको हो । एक करोड रुपैया एनएमवि बैंकबाट कृषि ऋण लिए, अनि एक करोड आफैले नगद जम्मा गरे । त्यसपछि उद्योग सन्चालनमा आएको हो । अहिले अण्डा देखि दुइकिलो सम्मका कुखुरा फर्ममा उत्पादन भैसकेका छन् । बजारको समस्या छैन रे । खान लायक भैसकेका चल्लाको अर्डर रोल्पाबाट आइसकेको छ । बढिमा तीन बर्षमा लगानी उठाउने उनीहरुको लक्ष रहेको छ । पहिलो बर्ष लगानीमै वितेकाले खासै मुखाफा नभएपनि कम्तिमा २० लाख बचत गर्ने छन् ।
अर्को बर्षदेखि बार्षिक ५० लाख मुनाफा आर्जन गर्ने उदेश्यका साथ उनीहरु अघि बढिरहेका छन् । ‘डाक्टर भएपनि मेहनेत गर्नै पर्छ, किसान भएपनि मेहनत गर्नै पर्छ, तर यहां धेरै सम्भावना देखेर यो व्यवसायमा आएको हुं’—डा राजन भन्छन् । स्थाइ घर रुकुम भएका राजन पनि अहिले फर्मकै रेखदेखमा दमारगाउंमै बस्छन् । अव उनिहरुको बधिया भाले उत्पादन गर्ने सोंच छ । किनकि उनीहरुले यसको परीक्षण समेत गरीसकेका छन् । ‘दशवटा भालेलाइ बधिया बनाएका थियौं, दशवटै सफल भए’, राजनले भने । कानुनी मान्यता पाएमा कालिज पनि पालन गर्ने सोंचमा यी दुइ पार्टनर अघि बढेका छन् ।
छोरा राजन र छोरीज्वाई रामकुमारलाइ यो व्यवसायमा हौस्याउने गाइडलाइनर भने नयन केसी हुन् । उनी औषधि व्यवस्था विभाग नेपालगन्जका लेखा अधिकृत पनि हुन् । ‘बेलाबेलामा सल्लाह दिन र फर्म हेर्न यहां आउंछु, नत्र मेरो पेसा र बसोबास नेपालगन्जमै छ’—नयनले भने । कृषिकर्म हराउंदै जांदा दुःख लागेकाले यो पेसा अंगाल्न सल्लाह दिएको उनको अभिव्यक्ति थियो ।
कुकुर पनि हेरालु
एउटा अचम्मको कुरा त्यहांको फर्मभित्र कुकुर पनि हेरालुको भुमिकामा छन् । एउटा डोल्पाबाट ल्याएको भेडाचराउने कुकुर छ, जसले चल्लालाइ कम्पाउण्ड वाहिर जान दिंदैन । जुन कुकुर डोल्पाबाट ल्याइएको हो । कम्पाउण्ड किनारामा पुग्योकि फर्काएर चौर र खोरमै पुराइदिन्छ । अर्को काठे कुकुर छ । त्यसले आकाशबाट चल्ला खान आउने चिलको मात्रै निगरानी गर्छ । चिल भुइमा आउन थाल्योकि झम्टिन पुग्छ । अर्को कुकुर गेटआसपासमा कोहि आयोकि भुकेर धपाउने मात्र गर्छ । मानौ कुकुर पनि पार्टनर जस्तै छन् फार्ममा । जिउदो चल्ला कुनैपनि कुकुरले खांदैनन्, तर मरेको चल्ला दियो भने सवैले खान्छन् ।