
दाङ, असार १ ।
कपिलबस्तुमा एक महिला नेपाली नक्कली नोटसहित पक्राउ परेकी छन् ।
जिल्लाको शिवनगर नगरपालिका – २ हल्लानगरकी ४८ बर्षीया एक महिला नेपाली पाँच सय दरका १९ वटा नक्कली नोटसहित पक्राउ परेकी हुन ।
आँफुले पालेका बंगुरका लागि दानाको रुपमा दिइने च्युराको धुलो (ठुटो) खरिद गरे बाफत उनले च्युरा मिलका मालिकलाई दिएका सबै नोटहरुमा एउटै नम्बरहरु थिए ।
सबै नोटमा एउटै नम्बर फेला परेपछि शिवनगर – ३ खरेन्द्रपुरस्थित च्युरा उद्योगका मालिकले नक्कली नोट भएको आशंका गरि प्रहरीलाई खबर गरेका थिए ।
कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले नक्कली नोट फेला परेपछि ती महिलालाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको बताए । नेपाली पाँच सय दरका सबै नोटहरुमा एउटै नम्बर भएका नौं हजार पाँच सय नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कपिलबस्तुले ती महिलालाई खोटा चलन मुद्रा सम्बन्धि कसुरमा सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको डिएसपी सिंहले बताए ।
प्रहरीले चुरा उद्योगका मालिकका साथै नक्कली नोट दिने महिलाको परिचय भने खुलाएको छैन । प्रहरी स्रोतका अनुसार यो नक्कली नोट फेला प्रकरणमा अरु माथिपनि निगरानी भइ रहेको छ ।
