डिल्ली बस्नेत (संगित)
झमक्क साँझ परेको थियो । घामको पहेँलो झुल्को हराउँदै गएको आकाशको रङ्गसँगै उसका आँखाहरूमा पनि एक अनौठो उदासी छाएको थियो ।
उ, नामर्दले सोचे जस्तो जीवन पनि थिएन । थकाइले चुर भएरपनि उसले हिम्मत गुमाएको थिएन। त्यो दिनपनि उ घरबाट निस्कियो, तर कहाँ जाने, के गर्ने भनेर उसलाई थाहा थिएन।
जीवनको हरेक मोडमा निराशा र असन्तुष्टिको अँध्यारोले उसलाई घेरेको थियो। यात्रा सुरू भयो, बाटो अज्ञात थियो। उसका पाइला हल्लिँदै अघि बढिरहेका थिए, तर मन भने प्रश्नहरूको गहिराइमा डुबेको थियो।
के म सही बाटोमा हिड्दैछु ? के मैले आफ्नो भविष्य भेट्न सक्छु ? यी प्रश्नहरूले उसलाई एक क्षणपनि चैन दिँदैनथे । उसको निधारमा पसिनाको थोपा थोपाले बगिरहेको थियो, त्यो गर्मीको कारण मात्र थिएन, बरु भविश्य प्रतिको त्यो अनिश्चितताको कारण थियो।
जति हिँड्यो, उ त्यति नै अँध्यारोमा डुब्दै गयो । बाटोको दुईवटा मोडमा पुग्दा, उसले छिनभरका लागि विश्राम लियो। सोच्न थाल्यो, के यो सही दिशा हो ? तर जीवनको उत्तर हरेक प्रश्नमा भेटिन्थेन । कहिले काहीँ प्रश्नहरू मात्र हुन्थे, उत्तरहरू तिम्रो साहसमा लुकेका हुन्थे।
कुनै बेला उ सुनेको थियो, अँध्यारोमा पनि उज्यालोको खोजी गरिरहनु पर्छ । तर त्यस दिन, त्यो उज्यालो निकै टाढा लागि रहेको थियो । उसले आफ्नो छेउमा हिँडिरहेको एकजना वटुवालाई हे¥यो। उसको अनुहारमा पनि उस्तै थकान र निराशा थियो । वटुवाले उसलाई सोध्यो, दाई, कहाँ जाँदै हुनुहुन्छ ? यो अँध्यारो बाटोमा एक्लै यात्रा गर्दै हुनुहुन्छ ?
मुखबाट निस्कियो, खोइ, यात्रा नै हो। कतै पुगिन्छ कि, भन्ने आशा छ। तर कता पुगिन्छ ? यो यात्रा पनि निरर्थक बन्ने हो कि ? त्रासदी मनमा थियो । त्यस्तै लाग्न थालेको थियो । आधाबाटो पार भइ सक्दा ।
वटुवाले आफ्नो गहिरो सुस्केरा हाल्दै भन्यो, गरिबीको सुरुङमा धेरै समयदेखि हिँडिरहेको छु दाइ । उज्यालोको खोजीमा निस्केको थिएँ, तर, यो अँध्यारोको अन्त्य कहिले होला भन्ने प्रश्नले सधैं सताइ रहन्छ । थकाइ लागि सक्यो, तर हिँड्न भने छोडेको छैन । भन्छन् – भन्नेहरु साश छँदा सम्मको आश नै जीवन हो । अन्तिम पलसम्म आशा जिवितै रहँदो रहेछ ।
दुबैजना केही क्षणको लागि मौन भए । उनीहरूको यात्रा अलग थियो, तर उद्देश्य उस्तै – उस्तै त थियो । अँध्यारो सुरुङमा फसेरपनि उनीहरू उज्यालोको आशामा अघि बढिरहेका थिए । कहिले काहीँ, जीवनको सबैभन्दा कठिन मोडमा पनि हिम्मत राख्नु आवश्यक हुन्छ ।
उनीहरू दुबै जना अँध्यारो सुरुङबाट बाहिर निस्कने आशामा निरन्तर हिँडिरहेका थिए, तर भविष्यको अनिश्चितताको डर भने कहिल्यै समाप्त भएको थिएन । सायद जीवन संघर्ष भनेकै यही चिज हो । मनले हारे, आशै नभए के जीवन रहन्छ र ? उस्ले भन्यो । मैले उस्को भनाइमा मौन सर्थन जनाए जस्तै गरि टाउको हल्लाइदिए ।
अँध्यारोले घेरेको भएपनि उनीहरूको मनमा एक प्रकारको विश्वास थियो, आशा थियो । कि, कुनै दिन उज्यालो फेरि छाउने छ, उज्यालो आउनेछ । खोजेको उज्यालो पाउने आशामा, उनीहरूको यात्रा जारी रह्यो ।
सायद अझैं धेरै माइलौं टाढाको यात्रा यसै गरि कायमै रहने छ । अध्याँरो भित्र उज्यालो खोज्ने अभिलाशा कायमै रहने छ । आशा, विश्वास र भरोसामा टिकेको संसारमा आँफै एक निरउदेश्य घुमिरहेको यात्री सरह ।
कँही हरियाली , कँही बगर, कतै अध्यारो सुरुङको यात्रा जारी छ । घनघोर घना जंगलमा बाटो आँफै पहिल्याउनु छ । अगाडि बढ्नु छ । तल्लो बाटो बिदेश भासिने साथी भाइको लिष्ट लामो छ । तर, मलाई यही धर्तिमा आँफैले गोरेटोहरु कोर्नु छ ।