२०८३ असार २७ गते शनिवार

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो

धनकुटा,कात्तिक ३ । लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा ६ जनाको ज्यान गएको छ ।

गए राति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा वर्ष ६० का भीमबहादुर श्रेष्ठ, उहाँका नौ वर्षीय नाति विनोद श्रेष्ठ, पाँच वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष ७ का दिप्सन श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले बताए ।

यस्तै पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

डीएसपी रायाका अनुसार घाइतेमध्ये वर्ष ३१ का भेषबहादुर श्रेष्ठ, वर्ष २९ की लिला श्रेष्ठ र वर्ष ५४ की गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको छ । घाइतेलाई हेलिकोप्टरबाट उपचारको लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताए ।


त्यही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा बगाएको छ । तर मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताए । वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा हिजो मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *