२०८२ मङ्सिर २४ गते बुधवार

नेपाल च्याम्पियन


काठमाडौँ, असार २४ ।
एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा नेपालले हङकङलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । दुई वर्षअघि भएको प्रतियोगितामा पनि नेपालले उपाधि जितेको थियो ।

हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । जसमा नेपालका लागि ओपनर रित गौतम १३ रन र पवन सर्राफले ३९ रन जोडेका थिए । रितले १४ बलमा २ चौका र पवनले ३६ बलमा ५ चौका र १ छक्का हानेका थिए । त्यस्तै खड्कबहादुर बोहरा २२ बलमा ८ रन र कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन जोडेर आउट भए ।

भीम सार्कीले नटआउट ८ रन जोड्न सफल भएका हुन् । मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भयो । बलिङमा हङकङका रौनक कपुरले २ विकेट लिएका थिए । हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुले ।

उनले ७१ बल खेल्दा ४ चौका प्रहार गरेका थिए । नेपालका सागर ढकालले ५ विकेट लिन सफल भएका थिए । उनले १० ओभरमा १८ रन खर्चिएका थिए । त्यस्तै सागरले भने ५ ओभर मेडन राखेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए भने कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन दिए ।

कुशल मल्ल र तिलकराज भण्डारीले समान १÷१ विकेट लिन सके । कुशलले ८.१ ओभरमा ५ मेडन राख्दा ४ रन मात्र खर्चिएका थिए । उपाधि जितेसँगै नेपाल आगामी अगस्ट २८ देखि श्रीलंकामा हुने यू–१९ एसिया कपमा छनोट भएको छ । त्यसमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेतसँग नेपालले खेल्न पाउने निश्चित भएको छ ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *