३ महिना भित्र काम सक्नु पर्ने

तुलसीपुर , भदौ १० ।
तुलसीपुर उपमहानगरपालिकाको ‘तुलसी टावर’ को फुटाइएका सिसा लगाएतका संरचना फेर्नका लागि निर्माण पक्षसंग संझौता भइ काम अघि बढेको छ ।
गत बर्ष भदौ २४ गते जेनजी आन्दोलनका नाममा तुलसीपुरको नव निर्मित तुलसी टावरमा तोडफोड भएको थियो । भरखरै निर्माण पुरा भइ ब्यबसायिक रुपमा भाडामा गइ नसकेको सोही सात तले भवनको सिसा उपमहानगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट फेर्न थालेको हो ।
तुलसीपुरको ब्यापारिक भवनको सिसाहरु फेर्न तुलसीपुरको ‘कन्टिनेन्टल बिल्डर्स’ का हरिहर पौडेलले टेन्डर पारी कामको सुरुवात गरेका छन् ।
यसअघि उपमहानगरपालिकाले खोलेको पहिलो चरणको टेन्डरमा एक जना निर्माण ब्यबसायीले पनि काम गर्ने इच्छा देखाएका थिएनन् । उपमहानगरपालिकाले खोलेको सार्वजनिक टेन्डरमा एउटापनि निबेदन नपरेपछि फेरि भदौ १ गते उपमहानगरपालिकाले दोस्रो पटक ४५ लाख बराबरको टेन्डर खोलेको तुलसीपुरका इञ्जिनियर पवनकुमार योगीले बताए ।
दोस्रो पटक खोलिएको टेन्डरमा पनि ‘कन्टिनेन्टल बिल्डर्स’ का हरिहर पौडेलको मात्रै आबेदन परेको थियो । पौडेलले मात्रै टेन्डर भरेको हुँदा सस्तह काम पौडेलले पाएका हुन । निर्माण पक्ष र उपमहानगरपालिकाका बीचमा ३ महिना भित्र तोडफोड भएका सिसा राख्ने लगाएतका काम पुरा गरि हस्तान्तरण गर्ने संझौंतामा उल्लेख रहेको इञ्जिनियर योगीले बताए ।

४५ लाख रकमले २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड भएका भवनका सिसा, तोडफोड भएका सौचालय मर्मत, एउटा च्यानेल गेट निर्माण, तोडफोडका क्रममा नष्ट गरिएको बिद्युकिरण, तोडफोड भएका सिसी टिभी क्यामेरा जडान, बिग्रेको ठाउँमा रङरोगन लगाएका काम गर्ने संझौंतामा उल्लेख छ ।
संझौंता अनुसार निर्माण पक्षले आगामी कात्तिक मसान्तसम्म भवनका सिसा परिवर्तन लगाएत अन्य काम पुरा गरि हस्तान्तरण गर्ने उल्लेख छ । यसैबीच निर्माण पक्षले जेनजी आन्दोलनका क्रममा तोडफोड गरि नष्ट पारिएका अधकचल्टा सिसाहरु हटाउने (किलियर गर्ने) कार्य सुरु गरि सकेको छ ।
यो ब्यापारिक भवन साढे १४ करोड रुपैयाँमा निर्माण गरिएको थियो । करिब १४ करोड ५० लाखमा ठेक्का संझौंता भइ भवन निर्माणको भएको हो । सुरुमा यसको अनुमानित लागत २३ देखि २८ करोड रुपैयाँसम्मको टेन्डर आह्वान गरिएको थियो ।
पछि निर्माण कम्पनीले साढे १४ करोड रुपैयाँमा ठेक्का स्वीकार गरी निर्माणको काम सम्पन्न गरेको थियो ।