

दाङ , भदौ १० ।
बुधबार बिहान एकाएक रसुवामा ठूलो बाढी आएपछि ५ जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
गृह मन्त्रालयले तत्काल सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै पृथ्वी राजमार्ग, गल्छी –नुवाकोट– रसुवा–स्याफ्रुबेसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन तथा ती स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन समेत आग्रह गरिएको छ ।
खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्न भनिएको छ ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाएका छन् ।
बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बोलाएको प्रेस विज्ञ दीपा दाहालले बताइन ।
यतिखेर सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ।
उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ ।