२०८३ साउन १३ गते बुधवार

बाँके राष्ट्रिय निकुञ्जमा दोब्बर बढे बाघ, बर्दियमा भने केही घढे

मुलुक भर बाघको संख्या ४२९


दाङ, साउन १३ ।


बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या दोब्बरले बढेको पाइएको छ । तर, सीमाना जुधेको र चर्चित बर्दिया राष्ट्रिय निकुञ्जमा भने पाटे बाघको संख्या केही घटेको पाइएको छ ।
नेपालमा चार बर्ष अघि कुल ३५५ वटा पाटे बाघ रहेकोमा २०८२ को सर्वेक्षण अनुसार मुलुकभर ७४ वटा वृद्धि भइ बाघको संख्या ४२९ वटा पुगेको छ ।
विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा बुधबार सार्वजनिक गरिएको नयाँ तथ्याङकले सबै भन्दा धेरै पर्रा राष्ट्रिय निुकञ्जमा बाघको संख्या बढेको छ । त्यसपछि बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणको उल्लेखनिय सफलता हासिल गरेको छ । पाटे बाघ संरक्षणकै लागि भनेर सन २०१० अर्थात बिक्रम संबत २०६७ मा स्थापना बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो ।
बितेको १६ बर्षको अबधिमा विश्वमै संकाटापन्न प्रजातिको पाटे बाघको संख्या ४ बाट गुणात्मक रुपमा बृद्धि भइ ५१ पुगे
पछि संरक्षणकर्मी उत्साहित छन् ।
हरेक चार बर्षमा गरिने बाघ गणनाको तथ्याङ्क अनुसार सन २०१३ मा बाँके राष्ट्रिय निकुञ्जमा जम्मा ४ वटा बाघ मात्र फेला परेका थिए । त्यस्तै सन २०१८ मा २१ वटा, सन २०२२ मा २५ वटा बाघ फेला परेका थिए । बुधबार सार्वजनिक तथ्याङ्क अनुसार बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर बृद्धि भइ ५१ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र कँडेलले बाँकेमा दोब्बर बढी बाघ बृद्धि हुनुलाई संरक्षणको दृष्टिकोणले ठूलो उपलब्धि मान्न सकिने बताए ।
‘बाँकेमा बाघ संरक्षणका दुष्टिकोणले मात्रै छोटो अवधिमै मिलेको सफलताले हामी सबै बधाइका पात्रा हौ ,’बरिष्ठ संरक्षण अधिकृत कँडेलले भने ‘यसमा मिडियाको सकारात्मक रोल, सामाजिक चेतना र संरक्षणकर्मीले महत्वपूर्ण भूमिका खेलेको छ ।’

वरिष्ठ संरक्षण अधिकृत कँडेलले छोटो अवधिमै बाँकेमा पाटे बाघको संख्या गुणात्मक रुपमा बढ्नुमा प्रभावकारी संरक्षण ब्यबस्थापनलाई मान्नु पर्ने बताए । उनका अनुसार चोरी शिकारीको प्रभावकारी नियन्त्रण, सामुदायिक सचेतनामा बृद्धि, स्थानीयको बानी बेहोरामा परिवर्तन ल्याउन निर्वाह गरिएको भूमिका, बाघका लागि पर्याप्त मात्रामा आहारा जन्य जिव जन्तुको उपलब्धताले गर्दा बाँके राष्ट्रिय निकुञ्ज भविश्यमा मुलुकै अनुकुल वासस्थान बन्न सक्ने संभावना औंल्याए ।


‘ बाँके राष्ट्रिय निकुञ्जमा एउटा बयष्क भाले पाटे बाघ कुसुमदेखि खैरीसम्म झन्डै तीसदेखि ४० किलोमिटर डुलेको तथ्य फेला पारेका छौं,’ कँडेलले भने ‘ त्यो बाघ आहाराको खोजी र प्रजनन्को लागि त्यसरी डुलेको तथ्य फेला परेको छ ।’
कँडेलका अनुसार एउटा भाले बाघले झन्डै ५० र पोठी बाघले ३० स्वीकार किलोमिटर सम्म आफ्नो क्षेत्र निर्धारण गरि बसेको हुन्छ ।
बाँके राष्ट्रिय निकुञ्ज पाटे बाघ र अन्य वन्य जन्तुका लागि अनुकुलन बनाउनका लागि मुगुवा खोला र चंगाइ नालाको प्राकृतिक पानीको उपलब्धता सबै भन्दा उपयुक्त पानीको स्रोत हो । त्यो बाहेक राप्ती नदी लगाएतका जलाधारपनि हुन ।
निकुञ्जका बरिष्ठ संरक्षण अकिधृत कँडेदलका अनुसार बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर क्षेत्रमा पर्ने हुँदा सुख्या याममा वन्य जन्तुका लागि पानीको ठूलो संकट थियो । ‘ निकुञ्ज चुरे र भावर क्षेत्रमा रहेको हुँदा मृत प्राय पानी पोखरी ब्यूँताउने हामीले ठूलो मेहनत गर्‍यौैं,’ उनले भने ‘ यो बीचमा हामीले तीस वटा जिवन्त कृतिम पोखरी निर्माण गर्न सफल भएका छौं ।’ निकुञ्जमा भित्र प्राकृतिक पानीको स्रोत निकै सीमित रहेको हुँदा वर्षभरि पानी उपलब्ध हुने गरि विशेष योजना अन्तर्गत ३० वटा पोखरी निर्माण गरिएको उनले बताए ।
६० देखि १५० मिटरसम्म डीप बोरिङ गरि सोलारबाट बिद्यूत उपलब्ध गराइ समरवेल मोटरबाट आँफै पानी पोखरीमा भरिने गरि ब्यबस्थापन मिलाइएको र त्यसले कुनै आवाज वा ध्वनी पैदा नगर्ने हुँदा वन्य जन्तुलाई कुनैपनि असर तथा प्रभाव नपर्ने कँडेलले बताए । उनले भविश्यमा प्रत्येक ३ देखि ५ किलोमिटरको दुरीमा त्यस्ता पोखरीहरु निर्माण गर्ने योजना सुनाए ।
बाघको आहार मृग प्रजातिकाका बिभिन्न जनावर, बँदेल लगाएतका जिव जन्तुको बृद्धिका लागि करौंती, गोठेरी, ठुरिया, ओभरी, चौका, खैरी लगाएतका क्षेत्रमा गरि करिब ५०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान बिस्तार गरिएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।
बर्ष भरि पानी उपलब्ध हुने गरि ३० वटा पोखरी निर्माण गर्नु र दर्जन जति घाँसे मैदानको बिस्तार गर्नुले वन्य जन्तुको लागि बाँके राष्ट्रिय निकुञ्ज उपयुक्त बासस्थानका रुपमा बिकास हुँदै गएको संरक्षणकर्मीको अनुभव छ । पछिल्लो समय आहार प्रजातिका जिवजन्तुको संख्या पनि उल्लेखिय मात्रामा बढ्दै गएको हुँदा बाँके राष्ट्रिय निकुञ्ज पाटे बाघको वासस्थानका लागि भविश्यमा थप अनुकुलन बन्ने कँडेलेको बिश्वास छ ।
‘ यो निकुञ्जमा बयष्क बाघ मात्रै होइन डमरुपनि बढ्दै गएका छन्,’ उनले भने ‘त्यसको अर्थ बाँके बाघको बासस्थानका लागि उचित वासस्थान हो भन्ने प्रमाण हो ।’
कतिपयले बर्दियाको बाघ बाँके आएकी भन्ने तर्क गर्न थालेपनि त्यो सही बुझाइ नभएको कँडेलले बताए । सन २०१० अघि नै बर्दिया र बाँकेको सीमाना जोडिएकै भएपनि त्यसअघि बाँकेमा किन बाघ थिएनन् र अहिले आएर छोटो अबधिमै डेढसय प्रतिसतले त्यो संख्या बृद्धि भयो भन्ने कुरा मनन् गर्न जरुरी रहेको उनले बताए ।
बाघ आफ्नो क्षेत्र निर्धारण गरि बस्ने भएको हुँदा सीमाना जोडिएको नजिकको पेरिफेरीमा ओहोर दोहोर गर्न सक्ने भएपनि स्थायी रुपमा नबस्ने उनको भनाइ थियो ।

बाँकेमा बाघको संख्या गुणात्मक रुपमा बृद्धि हुँदै गएपछि अब त्यसलाई संबृद्धि संग जोडेर अगाडि बढ्न जरुरी रहेको संरक्षण कर्मीहरु बताउँछन् । बाघ हेर्नका लागि बाँकेमा पर्यटकहरु धेरै आउन थालेको र त्यसले सफारी ब्यबसाय तथा होटेल क्षेत्र फष्टाउने आशा गरिएको छ ।
यो निकुञ्जको तथ्याँङ्क अनुसार आर्थिक बर्ष २०७९ /०८० मा ३०६ जना, २०८०/०८१ मा ४४४ जना र आर्थिक बर्ष २०८१ / ०८२ १, ४६६ जना पर्यटक सफारीका लागि आएका थिए । बाघ बढे संगै बाँकेमा पर्यटक भित्रने संख्या पनि डेढ सय प्रतिसतले बृद्धि भएको पाइएको छ । यहाँ भविश्यमा वाइल्ड लाइभ टुरिजमलाई थप पर्बद्धन भइ रोजगारी सृजना हुने तथा स्थानीयको आम्दानी बढ्ने हुँदा संरक्षणलाई संबृद्धि संग जोडेर अगाडि बढ्न सक्नु पर्ने संरक्षणकर्मीहरुको धारणा छ ।
यद्यपी निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत कँडेलले बितेको १६ बर्षको अवधिका ४ वटा बाट ५१ वटा पाटे बाघ पुग्नु संरक्षणकर्मीहरुका लागि ठूलो सफलता मान्न सकिने भएपनि बाँकेमा बाघको संख्या गुणात्मक रुपमा बृद्धि हुँदै गर्दा खुसी अर्थात हर्ष मानेर बसेर मात्रै नपुग्ने तर्क गर्छन । बाघ बढे संगै मानव र वन्य जन्तु बीचको द्धन्द बढेको हुँदा त्यसको उचित ब्यबस्थापन गरि द्धन्द घटाउनु पर्ने चुनौतिपनि थपिएको उनले बताए ।
बाँकेमा बाघको संख्या दोब्बर बढीले बढेपनि बाघको लागि नेपालकै चर्चित मध्यको बर्दिया राष्ट्रिय निकुञ्जमा भने यसपटक बाघको संख्या केही संख्यामा घटेको देखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रबक्ता महेश न्यौंपानेका अनुसार पद्धिल्लो समय १३ वटा बाघ घटेका हुन । सन २०२२ को गणना अुनसार बर्दियामा १२५ बाघ फेला परेकोमा अहिले ११२ वटा मात्रै बाघ क्यामेरामा कैद भएका हुन । तर, उनले सीमाना जोडिएको बाँकेमा बाघको संख्या दोब्बरले बढ्नुले यताका बाघ उता स्थान्तरण भएको मान्न सकिने तर्क गरे ।
‘ बाघ आफ्नो टेरिटोरी बनाएर बस्ने प्राणी हो,’ न्यौंपानेले भने ‘ घुम्दै जाने क्रममा उचित भूगोल पाएपछि यताका बाघ उता सरेका पनि हुन सक्छन् ।’
त्यसो नभएपनि सीमाना जोडिएको निकुञ्जमा बाघ बढ्नु संरक्षणमा ठूलो सफलता मान्न सकिने उनले बताए । बाघ बढेसंगै बर्दिया र बाँकेमा मानव र वन्य जन्तुको बीचको द्धन्दपनि बढेको हुँदा त्यो न्यूनिकरण गर्न आरसिसी वाल लगाउने, तार बार गर्ने, नबीनतम प्रबिधिको प्रयोग गर्ने तथा सचेतना फैसलाउने कार्य जारी रहेको उनले बताए ।
बाँके–बर्दिया सीमाना जोडिएका दुई निकुञ्जको कम्प्लेक्समा ६ वटा ब्लकमा बाघ गणनका लागि गत हिउँदमा क्यामेरा जडान गरिएका थिए । सीमाबर्ती क्षेत्र दाङ क्षेत्रमा एउटा ब्लकमा ९८ वटा क्यामेरा , बाँके क्षेत्रमा २ वटा ब्लकमा ३४८ क्यामेरा र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३ वटा ब्लकमा ४५५ क्यामेरा बाघ गणनाका लागि झन्डै तीन महिना बढी बाघका गतिबिधि नियाल्न जडान गरिएका थिए । सोही क्यामेरामा कैद भएका बाघका गतिबिधि बिश्लेसन गरि पछिल्लो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्क अुनसार सबै भन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । यहाँ सुन २०२२ को गणना अनुसार १२८ बाट बाघ थिए । हाल त्यो संख्यामा वृद्धि भइ चितवनमा बाघको सख्ंया १४५ पुगेको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाट घटेर ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाट वृद्धि भइ ७१, बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट बृद्धि भइ ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट वृद्धि भइ बाघको संख्या ५० पुगेको छ ।
बिभागको तथ्याङक अनुसार सबै भन्दा धेरै पर्सामा ३० वटा , बाँकेमा २६ वटा, चितवनमा १७ वटा , शुक्लामा १४ वटा पाटे बाघ बढेका हुन । तर, बर्दियामा भने बाघको सख्या १३ वटा घटेको पाइएको छ ।
तथ्यांकअनुसार सन २०२२ मा नेपालमा कुल ३५५ वटा बाघ गणणा भएका थिए । बुधबार सार्वजनिक तथ्यांकअनुसार त्यो संख्यामा ७४ वटा बाघ थपिए पछि बाघको संख्या कुल ४२९ पुगेको छ ।
नेपालले सन २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनमा सन २०२२ सम्म नेपालका बाघको सख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । तत्कालिन समय सन २००९ का अनुसार नेपालमा जम्मा १२१ .वटा बाघ मात्रै थिए । नेपालले सन २०२२ मा त्यो संख्या बढाएर २५० पुर्‍याउने प्रतिबद्धा गरेको थियो । नेपालले त्यो बीचमा झन्डै तेब्बर बढी बाघ संरक्षण गर्न सफल भएको थियो ।
विश्वमै संकटापन्न मानिने पाटे बाघ नेपाल, भारत, बंगलादेश लगाएत विश्वका १३ देशमा मात्रै पाइन्छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *