२०८२ असार ६ गते शनिवार

वैदेशिक रोजगारीबाट फर्किएकाको पुनःएकीकरण चुनौतीपूर्ण

तुलसीपुर,भदौ २० । मानव बेचबिखन विरुद्ध दिवसको अबसरमा तुलसीपुरमा वैदेशिक रोजगारबाट फर्किएका श्रमिक महिलाहरुको सामाजिक पुनः एकीकरण अध्ययन प्रतिबेदन माथी छलफल भएको छ ।

सोमवार जनचेतना महिला सञ्जाल (आप्रवासी कामदार) को आयोजना तथा महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखा,ओरेक दाङ र इलाका प्रहरी कार्यलय तुलसीपुरको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले स्पष्ट नीति, योजना र कार्यक्रम नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकाको पुनःएकीकरण चुनौतीपूर्ण रहेको बताएका छन ।

उनीहरुले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुलाई मानसिक, सामाजिक र आर्थिक रुपमा पुनःस्थापित गराउन उनीहरुको पहिचान गरि स्थानीय सरकारले रोजगारी व्यवस्थापनका कार्य सञ्चालन गर्नुपर्ने जोड दिएका थिए ।

रोजगारीबाट फर्केकाहरुमा स्वदेशमै श्रम र पसिना बगाउने उनीहरुको सोचले ठोस् आकार लिन नसक्दा फेरि निराशा बोकेर विदेशिन बाध्य भएको उनीहरुको भनाई थियो ।

जनचेतना महिला सञ्जालका अध्यक्ष पुस्पा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खडकाले बैदेशिक रोजगारीबाट फर्किएका महिला तथा युवाहरुलाई स्वरोजगार बनाउन उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।
‘अझैपनि नेपालमा रोजगार नपाउदा चोर बाटो अपनाएर थुप्रै युवाहरु रोजगारीका लागि बिदेशिनु पर्ने बाध्यता छ,केही विभिन्न प्रलोभनमा परि मानव बेचबिखनमा पर्नुभएको छ,खड्काले भने,समयमै सिप सिकेर आफ्नै देशमा उद्यमी बन्नका निम्ती तुलसीपुर उपमहानगरपालिकाले सक्दो सहयोग गर्नेछ।’

साथै उनले एसईइमा असफल भएका पालिका भित्रका ३० देखि ५० जना युवा युवतीको उत्थानका निम्ती तुलसीपुरले निशुल्क रुपमा आइटि पढ्न पाउने व्यवस्था गरेको समेत बताए ।

त्यस्तै उपप्रमुख स्यानी चौधरीले आफू सक्षम भएमा मात्र जुनै ठाउमा पुगेर पनि सजिलैसगं काम गर्न सकिने तर्क गरिन । शान्तिनगर गाउपालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले थुप्रै मानिसहरु सीप सिकेर नेपालमै उधमी बनेको उदाहरण दिदै सिप सिकेर आफ्नै ठाउँमा कृर्षि,व्यापार,व्यवसाय गर्न आग्रह गरिन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठले मानव बेचबिखन तथा ओसारपसार र ओरेक दाङका कार्यक्रम अधिकृत सुस्मा छिनालले बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको बारेमा तथ्याङ्क प्रस्तुत गरेका थिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमोद भण्डारीले दिनहुँ धेरै प्रकृतिका मानव बेचबिखनका घटनाहरु हुने गरेपनि कार्यालयमा एउटा पनि मुद्दा दर्ता नभएको बताए । उनले यस्ता खालका विभिन्न घटनालाई नियन्त्रण गर्न स्थानीय सरकारले ठोस सयन्त्र बनाएर अगाडि बढ्न जरुरी रहेको बताए ।

त्यस्तै सुरक्षित आप्रवासन सामी परियोजना तुलसीपुरका फोकल पर्सन बाबुराम न्यौपानेले पछिल्लो समय दलालको फन्दामा परि सिप नसिकेरै बैदेशिक रोजगारीमा जाँदा महिलासगै पुरुष पनि नेपाल फर्कनुपरेको बताए ।

प्रधानमन्त्री तथा रोजगार कार्यक्रम सयोजक किरण गौतमले बैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई रोजगारी सिर्जना गर्नका लागि लागि परेको बताए ।

स्थानीय सरकाले साझेदारी नगर्दा सम्म योजना सञ्चालन गर्न नसकिने उनले बताए । साथै उनले रोजगार कार्यक्रममा काम गर्न चाहानेहरुले फागुनको महिना भित्रमा पालिकामा सुचिकृत भएमा काम गर्न पाउने व्यवस्था रहेको जानकारी दिए ।

त्यस्तै तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष राम प्रसाद चालिसे वैदेशिक रोजगारीबाट फर्किएका तुलसीपुरका १९ वटै वडाबाट लगत सकंलन गरि सयन्त्र बनाउनुपर्ने र काम गर्न चाहानेलाइ रोजगार दिनुपर्ने धारणा राखे ।

उक्त कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम संयोजक कल्पना चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *