
तुलसीपुर,चैत ३० । दाङको तुलसीपुर उपमहानगरपालिकाले ३० औं स्थापना दिवस मनाएको छ । उपमहानगरपालिकाले बुधवार केक काटेर दिवस मनाएको हो ।
पूर्व मेयर तथा नेकपा एमालेका नेता ढुण्डिराज लामिछानेले कार्यक्रमको उद्घाटन गरेका हुन ।
प्रमुख अतिथि लामिछानेले बिगतमा अधिकार बिहिन अवस्थामा रहेको तुलसीपुर नगर अहिले स्थानीय सरकारको अधिकार र दायित्व बोध गर्न सक्ने अवस्थामा पुगेको तर्क गरे ।
‘हिजोपनि स्थानीय निकाय थियो, तर, त्यो अधिकार बिहिन र कार्यक्रम गर्ने आयोजकको रुपमा मात्र सिमित थियो,’ उनले भने ‘केन्द्रबाट आएका कार्यक्रमहरु मात्र गर्नु पर्दथ्यो, तर आज आँफै कार्यक्रम बनाउने ÷व्यवस्थापन गर्ने अधिकार पाएको छ ।’
आजको उपमहानगरपालिका स्थानीय सरकारका रुपमा रहेको भन्दै त्यो अधिकार संगै दायित्व पनि थपिएको बताए ।
उनले जिम्मेवारी लिनेबेला तछाड–मछाड गर्ने जनप्रतिनिधिले जिम्मेवारी बहन गर्ने कति सक्यौ रु भन्ने कुराको मुल्याङ्क हुन जरुरी रहेको बताए ।
कार्यक्रममा मेयर घनश्याम पाण्डेले जिल्लाका दश पालिका मध्य बितेको पाँच बर्षमा तुलसीपुरमा सबै भन्दा नमुना योग्य काम भएको बताए ।
दाङ उपत्यकामा ठूलो भूभाग रहेको भन्दै नेपाललाई खाद्यान्न पुगाउनेदेखि औद्योगिक क्षेत्रको विकाश गर्ने खाले आधार यो बीचमा तयार पारिएको उनले चर्चा गरे ।
‘दाङका दश पालिका मध्य सबै भन्दा ब्यबस्थित र सर्वाङगिन बिकाशका हिसावले, समाबेशी विकाशका हिसावले नेपालमै एउटा नमुनाको मोडेललाई स्थापित गरेर अगाडि बढेको छ,’ मेयर पाण्डेले भने ‘ हामो काम देखेर अहिले तुलसीपुरको जस्तै मेट्रो कलेज बनाउनु पर्छ, मेट्रो हस्पिटल बनाउनु पछ, ऐन कानुन बनाउनु पर्छ भनेर अरुले अनुशरण गरि रहेका छन् ।’
उनले अहिले देशैभर तुलसीपुर देखिने, सुनिने र अनुभुत गर्न सकिने अवस्थामा रहेको दावी गरे । उनले तुलसीपुरलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हवको रुपमा बिकास गर्न सफल भएको दाबी गरे ।
उनले मेट्रो कलेज, मेट्रो हस्पिटल, आधुनिक वसपार्क, नमुना अटो भिलेज, फलफूल तथा तरकारी बजार लगायतका कुराहरु आँफूले गरेका नमुना कामको रुपमा अथ्र्याए । पाण्डेले मातृशिशु सुरक्षा कार्यक्रम,अन्धोपन निवारणका लागि उज्यालो तुलसीपुर अभियान, विकट वडामा एम्बुलेन्स सञ्चालन, खरको छानो विस्थापन, एक वडा एक खेल मैदान, सामुदायिक विद्यालय सुधार कार्यक्रम, स्मार्ट छोरी कार्यक्रम, न्यानो कपडा वितरण, लगायतका कामहरु प्रदेश र संघ सरकारका लागि समेत सिकाईको माध्यम भएको दाबी गरे ।

उपमहानगरपालिकाको सेवालाई अनलाइन पद्धतिमा रुपान्तरण गर्दै विकासलाई समावेशी ढगंले अघि बढाएको ,लामो समयदेखि बन्द रहेको टरिगाँउ बिमानस्थललाई नियमित सञ्चालनमा ल्याएको चर्चा गरे ।
कार्यक्रममा कार्यपालिका सदस्य चित्रा मल्ल,वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य टीकाराम खड्का,दिदीघर संस्थाका स्यानी चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रसासकीय अधिकृत मोहन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रवक्ता सुर्यबहादुर डांगीले गरेका थिए । २०४८ सालमा तुलसीपुर नगरपालिका स्थापना भएको हो ।
३० बर्षको अवधिमा तीन पटक निर्वाचित जनप्रतिनिधिले काम गरि सक्दापनि तुलसीपुरको विकाशका लागि दीर्घकालिन योजना तयार हुन सकेको छैन । बर्र्षौंदेखिको रिङरोडको सपना जहीको त्यही छ ।
मोनो रेल चलाउने, हाइड्याम निर्माण गरि पानीको समस्या समाधान गर्ने, बाह्रै मास सिंचाई सुबिधा पु¥याउने, एयरपोर्टको विस्तार गरि ठूला विमान अवतरण गर्न सक्ने बनाउने कुराहरु हरेक निर्वाचनमा दलहरुले आफ्ना चुनाबी ऐजेण्डाहरु बनाउँदै आएपनि त्यो अनुरुप काम भने हुन सकेको छैन ।