२०८२ मङ्सिर १ गते सोमवार

जसपाको रिक्त सांसद पदमा रुपन्देहीकी निर्मला निर्वाचित

बुटवल,भदौ १७ । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन्।

जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई कारबाही गरेपछि रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मला निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ।

‍आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई मंगलबार पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन्।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ।

जसपाले एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो।

कल्पनालाई कारबाही गरेसँगै कल्पनापछि निर्मलाको नाम बन्द सूचीमा थियो। सोही अनुसार जसपाले निर्वाचन आयोगमा सिफारिस गरेको थियो।

उक्त सिफारिसअनुसार आयोगले निर्मला निर्वाचित भएको घोषणा गरिसकेको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए। उनले एक हप्ताभित्र निर्मलाले सपथ लिनेसमेत जानकारी दिए।

 

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *