२०७८ असोज ८ गते शुक्रवार

लुम्बिनीमा कोरोना संक्रमण बढ्यो

दाङ,साउन १८ । लुम्बिनी प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित विरामी बढेका हुन् ।

बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।
रुपन्देहीसहित छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा.पाठकले बताए ।

यसैबिच संक्रमित विरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित विरामी भर्ना भएका डा. पाठकले जानकारी दिए ।

सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा. पाठकको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १ साउनदेखि १७ साउनेसम्म ११६ जनामा उच्च ज्वरो देखिएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले पछिल्लो २४ घण्टामा १७१ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको बताए ।

पेशा, व्यवसाय गर्ने उमेर समूहका व्यक्ति खोप लगाउनबाट वञ्चित भएका कारण पछिल्लो समय यो उमेर समूहका संक्रमित बढी देखिएकाले अब यही समूहलाई खोपमा प्राथमिकता दिनुपर्ने डा. गिरीको सुझाव छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *