घोराही,१८ असार । दाङ जिल्लामा पछिल्लो समय अन्य मुद्धाको तुलनामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन ।
आर्थिक वर्ष २०७७÷०७८को तथ्यांक हेर्दा दाङ्मा १ हजार ६ जना महिलाहरुले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत दाङमा मुद्दा दर्ता गराएको जिल्ला न्यायाधिश रितेन्द्र थापाले बताए ।
उनका अनुसार यी मध्ये ६ सय ७८ मुद्धा फच्यौट भैसकेको छन भने ३ सय २८ मुद्धा बाँकी छन ।
पछिल्लो समय श्रीमानले पनि सम्बन्ध विच्छेदका मुद्धा दर्ता गराउन पाउने कानुनी व्यवस्था आएसगै मुद्धा दर्तामा बृद्धि हुन पुगेको उनले बताए ।
जिल्ला अदालतमा विभिन्न प्रकृतिका नयाँ दर्ता २ हजार २ सय ३५ र जिम्मेवारी सरेको १ हजार ४ सय ४८ मुद्धा सहित ३ हजार ६ सय ८३ मुद्धा दर्ता भएका छन । यसमध्ये १ हजार ९ सय ३९ मुद्धा फच्यौट भैसकेका छन भने १ हजार ७ सय ४द्ध मुद्धा फच्यौट हुन बाँकी छन ।
जिल्ला न्यायाधिश थापाका अनुसार अंश सम्बन्धी ४ सय १४ मुद्धा दर्ता भएका थिए । ति मध्ये १ सय ९१ मुद्धा फच्यौट भैसकेका छन भने २ सय २३ मुद्धा बाँकी छन ।
मानाचामलका ७३ मुद्धा दर्ता मध्ये १९ फच्यौट भैसकेका छन भने ५४ बाँकी छन । त्यस्तै लेनदेनका २ सय ६९ मुद्धा मध्ये १ सय ६२ फच्यौट,लिखित बदर ३ सय २८ मुद्धा मध्ये १ सय १ फच्यौट र अन्यमा १ सय ९४ मुद्धा १ सय ६ मुद्धा फच्यौट भएका छन ।
अदालतमा जवरजस्ती करणीका १ सय ७८ मुद्धा मध्ये ९५ फच्यौट भैसकेका छन । कर्तव्य ज्यानका ५९ मुद्धा दर्ता भएका थिए ति मध्ये ३५ मुद्धा फच्यौट भैसकेका छन । त्यस्तै ज्यान मार्ने उद्योगका १ सय ३ मुद्धा मध्ये ५६ मुद्धा फच्यौट भएका छन भने सवारी ज्यान मुद्धाका ७८ मुद्धा मध्ये ५१ मुद्धा फच्यौट भैसको छन ।
जिल्ला अदालतमा बहुविवाहका ५५ मुद्धा दर्ता भएकोमा २७ मुद्धा फच्यौट भएका छन ।
त्यस्तै बालबिवाहका १२ मुद्धा दर्ता मध्ये ७ मुद्धा फच्यौट,लागुऔषध सम्बन्धी ७१ मुद्धा दर्ता भएकोमा ४२ मुद्धा फच्यौट भएका छन भने बन र बन्यजन्तु सम्बन्धी ५८ मुद्धा दर्ता भएकोमा २६ मुद्धा फच्यौट भएका न्यायाधिश थापाले जानकारी दिए ।
बन्दाबन्दीमा समयमा १ सय ५६ मुद्धाको म्याद थप गरिएको पनि बिहिवार घोराहीमा आयोजित पत्रकार एबम् नागरिक समाजसँग अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षितले लोकतन्त्रलाई सबल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताइन ।
दाङ देउखुरी जिल्ला अदालतले गरेको कार्यक्रममा उनले व्यबस्थापिका, कार्यपालिका, न्यायपालिका, सञ्चार जगत भनेको लोकतन्त्रलाई सबल बनाउने राज्यका महत्वपूर्ण अंग रहेको बताइन ।
उनले पछिल्लो समय सामाजिक सञ्जालहरुमा आउने अस्वभाबिक समाचारहरुले मिडियाको विश्वसनितामा संकट पैदा भएको गुनासो गरिन । साथै उनले जिल्लामा निषेधाज्ञा लागु भएदेखि मुद्धाहरु नहेरेको हुनाले अदालतमा अहिले २ वर्ष पुरानो मुद्धा रहन गएको समेत बताइन ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले अदालतको रिपोर्टिङका विषयमा पत्रकारहरुलाई अदालती ज्ञान हुनुपर्ने भन्दै त्यसका लागि नियमित यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मसाललले न्यायपालिका र पत्रकारहरु सधै निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
जिल्ला अदालतका श्रेतेदार धनसिङ गिरी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजेन्द्र कुमार शर्माले गरेका थिए ।