२०८२ कार्तिक २२ गते शनिवार

सहकारीको ५ करोड बढी रकम हिनामिना मुद्दामा २० जना बिरुद्ध पक्राउ पूर्जी जारी (नामावली सहित)

पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने

 भालुवाङ १६ असार । सहकारी रकम हिनामिना मुद्दामा देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध दाङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको हो ।

सुवेदी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा रहेका थिए ।

त्यस्तै अदालतले साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष किरण भण्डारी, साविक अध्यक्ष रुकमाङगत ज्ञवाली, पूर्व उपाध्यक्ष रामबहादुर कुवर, साविक उपाध्यक्ष कृष्णप्रसाद उपाध्यय पौडेल, पूर्व सचिव हिमानन्द पाण्डे, साविक सचिव हरिप्रसाद भुसाल, पूर्व सह—सचिव माधव शर्मा, साविक कोषाध्यक्ष रामकृष्ण पौडेल, पूर्व व्यवस्थापक गुरुप्रसाद सुवेदीलाई पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी धनसिंह गिरीले जानकारी दिएका छन् ।

त्यसैगरी अदालतले साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु केशबराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेल्बासेलाई पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी गिरीले जानकारी दिए ।

त्यस्तै अदालतले साविक महाप्रभु साकोसका पूर्व लेखा तथा सुपरिवेक्षण समितीका संयोजक बिष्णुबहादुर थापा, सोही समितीका सदस्यद्धय तुलसीराम पोख्रेल, युवराज भुसाल, लेखापरिक्षकद्धय गोबिन्दप्रसाद भण्डारी र गंगाबहादुर केसी बिरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी गिरीले जानकारी दिए ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश जारी गरेको बताए ।

३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टागिने उनले बताए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो ।

कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *