बाँके, असार ७। बाँकेमा जारी निषेधाज्ञाको समय एक हप्ता थप गरेर असार १४ गतेसम्म लम्बाइएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड १९ सङ्क्रमणको दर क्रमशः घट्दै गएको देखिए पनि जोखिमको अवस्था अझै कायमै रहेकाले रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन वैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई असार १४ सम्म निरन्तरता दिएको बताए ।
रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अबे सेवा, विवाह, व्रतबन्ध मृत्यु संस्कार लगायतका सामाजिक कार्यहरूमा बढीमा १५ जनासम्म सहभागी हुन पाउने, दैनिक उपभोग्य बस्तु लगायत अन्य पसल व्यवसायहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।
वैकल्पिक सिकाईका माध्यमबाट हुने शिक्षण तथा सिकाई, भिडभाड नहुने उपाय अवलम्बन गरी सार्वजनिक निकाय, बिमा, बैङ्क तथा वित्तीय संस्थाबाट हुने सेवा प्रवाह, कृषि कार्य, उद्योग कलकारखाना, निर्माण स्थलमै श्रमिक कामदार रहने गरी निर्माण कार्यलाई निषेध गरिएको छैन ।
निषेधाज्ञामा शैक्षिक संस्था, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सर, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, पुजारीबाट हुने नित्य पूजा बाहेक धार्मिक तथा सांस्कृति गतिविधि, यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
