२०८१ चैत्र १३ गते बुधवार

झिमरुक नदीमा निर्माणाधिन पुल बाढीले बगायो

दाङ, असार ४ । प्यूठानको झिमरुक नदीमा निर्माणाधिन पुल बाढीले बगाएको छ ।

प्यूठानको एराबती गाउँपालिका अन्तरगत झिमरुक नदीमा निर्मानाधिन दाबरा माझी दमार पुल असार २ गते बिहान आएको बाढीले बगाएको हो ।

सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख (डिई)बिनोद सापकोटाले निर्माणाधिन प्रिस्टेज ब्रिज ढलाई गरेको ४ दिनमै बाढीले टेकाहरु बगाए पछि पुल भत्किएको जानकारी दिए ।

पुल ढलाई गरेपछि १४ दिन पछि मात्रै पुलका टेकाहरु झिक्न मिल्ने भएपनि ४ दिनका दिन नदीमा आएको बाढीले अड्याएका लठ्ठीहरु बगाएको हुँदा पुलमा क्षति भएको उनले बताए ।

सडकका ईन्जिनियर अरुण खत्रीले ७० मिटर लामो उक्त पुलको ३५ मिटर ढलाई यसअघि नै पुरा भइसकेको र दोस्रो ३५ मिटर ढलाई भएको चार दिनमै बाढी आएर टेकाहरु बगाइ दिएपछि ठूलो क्षति भएको जानकारी दिए ।

जसबाट निर्माण कम्पनीले एक करोड बढी आर्थिक क्षति बेहोर्नु परेको उनले बताए ।

निर्माण कम्पनीको कमजोरीका कारण पुल भत्किएको नभई अबिलर बर्षा र बाढीका कारण पुल भत्किन पुगेको उनले बताए ।

प्रिस्टेज ब्रिज प्रबिधिबाट निर्माण गरिने पुलमा कम्तिमा पनि ढलान गरेको १४ दिन सेट हुन समय लाग्ने गर्छ ।

‘पुल ढलाई भएको कम्तिमा दश दिन भइदिएको भएपनि पुल तन्काउन सकिने संभावना हुन्थ्यो,’खत्रीले भने ‘ चार दिनमै ठूलो बर्षा र बाढी आएको हुँदा त्यो संभव भएन र पुल धप्किएको हो ।’

आर्थिक बर्ष २०७३÷०७४ मा निर्माण सम्झौंता भएको उक्त पुल यही असार मसान्तमा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

कोरोना महामारीले काममा केही ढिला भएपनि आगामी भदौ महिनासम्म पुल हस्तान्तरण गरि सक्ने लक्ष्य लिइएको थियो ।

उक्त पुल अमर कन्स्ट्रक्सन प्राली काठमाडौंले ७ करोड १२ लाख लागतमा निर्माणको जिम्मा लिएको थियो ।

 

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *