तुलसीपुर, जेठ २९ । तुलसीपुर क्षेत्रका निजी बिद्यालयहरुले असार १ गतेदेखि बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।
हालसालै गठित निजी तथा संस्थागत बिद्यालय समन्वय समितिको शुक्रबार तुलसीपुरस्थित हिमाल एकाडेमीमा भएको छलफलले असार १ गतेदेखि बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र असार ७ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको डिभाईन टेम्पलका प्रिन्सिपल भोजराज न्यौंपानेले जानकारी दिए ।
‘ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको निर्देशन अनुसार असार १ गतेदेखि बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र असार ७ गतेदेखि अवस्था हेरेर बैकल्पिक माध्यमबाट भएपनि पठन पाठन सुरु गर्ने निर्णय गरिएको छ,’ न्यौंपानेले भने ।
त्यस्तै उक्त छलफललले एक बिद्यालयबाट अर्कौ बिद्यालय जान चाहाने बिद्यार्थीलाई सर्टिफिकेट बिना भर्ना नगर्ने निर्णय पनि भएको छ ।
पहिलो बिद्यालयको बक्यौता भूक्तानी नगरी ठगी गर्ने प्रबृति बढेको हुँदा त्यसो हुन नपावस भनेर स्थान्तरण हुन चाहाने बिद्यार्थीले अनिवार्य सर्टिफिकेट ल्याउनु पर्ने र सर्टिफिकेट बिना बिद्यार्थी भर्ना गरे सोही बिद्यालयको दायित्व भित्र बक्यौता रकम हुने निर्णयपनि भएको छ ।
उक्त छलफलले सबै शिक्षक, बिद्यार्थी तथा अन्य कर्मचारीहरुलाई समेत कोरोना भाइरस बिरुद्धको खोप अनिवार्य रुपमा लगाउन माग पनि गरेको संस्थागत बिद्यालय समन्वय समितिका संयोजक प्रकाश शर्माले जारी गरेको बक्तब्यमा उल्लेख छ ।