तुलसीपुर, पुस २९ । तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेले आफुले साथी भाइको काम पर्दा सबैतिर मिलाउन सक्ने हैसियत राख्ने हुँदा आफु नै आगामी कार्यकालका लागि संघको अध्यक्ष हुने बताएका छन् ।
‘म प्रहरी प्रशासनदेखि राजश्व कार्यालयसम्म जताततै हाम्रा साथीभाइलाई काम पर्दा सबैतिर मिलाउन सक्ने हैसियत राख्द छु,’ फरककोणसंग कुरा गर्दै चालिसेले भने ‘ मेरो त्यो क्षमता सबै साथीभाइले बुझ्नु भएको छ । मेरो त्यही क्षमतालाई सम्मान गर्दै उहाँहरुले यसपटक मलाई अध्यक्षमा निर्वाचित गर्ने बिश्वास गरेको छु ।’
बरिष्ठ उपाध्यक्षका हैसियतले गर्दापनि आफुनै यसपटक अध्यक्षको सोतह हक दाबेदार भएको उनले तर्क गरे । ‘बरिष्ठ उपाध्यक्ष भएको नाताले पनि मलाई अन्य साथीहरुले यसपटक अध्यक्षका लागि छोड्नु हुने छ भन्ने बिश्वास गरेको छु,’ चालिसेले थपे ‘ यसअघि पनि संघमा निकै समन्वयकारी भूमिका खेलेको हुँदा त्यसको पनि सही मूल्याङकन हुने बिश्वास गरेको छु ।’
आफु बरिष्ठ उपाध्यक्ष भएको समयमा तुलसीपुरमा महोत्सव लगाउन भूमिका निर्वाह गरेको, एयरपोर्टमा नियमित विमान सञ्चालनका लागि भूमिका खेलेको उनले बताए ।
सबै भन्दा ठूलो कुरा आफुले संघ भित्र राजनीति गर्नु हुन्न भन्ने धारणा राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यापारी साथीहरुले अलग्गै संगठन निर्माण गर्दापनि आफु संघमै बसेर सबैसंग समन्वयकारी भूमिका खेलेको कुराको मुल्याङकन सबैले गर्ने उनले आशा व्यक्त गरे । ‘राजनीतिक रुपमा आस्था अलग कुरा हो,’ उनले भने ‘तर, त्यही आधारमा संघ भित्र चर्कौ राजनीति छिराउनु गलत हो । संघले हेर्ने व्यापारीको हित हो । राजनीति हैन ।’
उलने आफुलाई निर्वाचित गरे प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिका संग समन्वय गरि संघका लागि छुट्टै र एक सयवटा पसलहरु राख्न मिल्ने पर्दशनी हल निर्माण गर्न लगाउने बताए । त्यस्तै उनले एउटा औद्योगिक ग्राम निर्माण गर्नका लागि भूमिका खेल्ने सोच रहेको पनि सुनाए ।
‘तुलसीपुरमा एउटा औद्योगिकग्राम निर्माण गरि एउटा अलग्गै पहिचान निर्माण गर्न चाहान्छु,’ उनले भने ‘ म राजनीति गर्न हैन, तुलसीपुर क्षेत्रका व्यापारिको हक हितमा काम गर्ने छु ।’
त्यस्तै उनले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको विस्तार गरि ७२ सिट क्षमता सम्मको हवाइ जाहाज बस्ने बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग भूमिका निर्वाह गर्ने बताए ।
चालिसे २०६५ सालतिर संघको सदस्य बनेका थिए । त्यसअघि उनी गोरखा लहरी प्राली (गोल्ड नेपाल), नेपाल सूर्य टोबाको लगाएतमा कार्यरत थिए ।