२०८३ जेष्ठ १४ गते बिहिवार

प्रतिष्ठानमा बैशाखमा मात्रै १४० जनाले जटिल आँखा रोगको उपचार गराए


घोराही, जेठ १४ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बैशाख महिनामा मात्रै एक सय ४० जना विरामीको जटिल प्रकृतिको आँखा रोगको उपचार गराएका छन् । उनीहरुको अप्रेसन सफलता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीको नेतृत्वको टोलीले जटिल प्रकृतिको आँखाका बिरामीको उपचार गर्दै आएको छ ।
बर्ष दिनमा आँखारोग विभागका प्रमुखसमेत रहेका रसाइलिका अनुसार एक हजार चार सय २० जना आँखाका विरामीले ओपिडिमार्फत सेवा पाएका छन । २६ जना विरामीको भर्ना गरेर आँखाका उपचार गरिएको थियो ।
प्रतिष्ठानले आँखा सम्बन्धी उच्चस्तरीय विशेष सेवा विस्तार गरे सँगै दुर्गमका बिरामी लाभाविन्त भएका छन् । जटिल प्रकृतिका आँखाका बिरामी जिल्ला बाहिर अर्थात काठमाडौं लगाएतका ठाउँमा जानु पर्ने बाध्यता अन्त्य भएको मानिन्छ ।

प्रतिष्ठानमा आँखाको कोटर सम्बन्धी उपचार, आँखाको प्लाष्टिक तथा पुनर्निर्माण शल्यक्रिया र आँखाको क्यान्सर उपचारजस्ता सेवाहरू दिदै आएको छ । ‘पहिला ती रोगका बिरामीलाई उपचारका लागि काठमाडौं जानैपर्ने बाध्यता थियो,’ डा. रसाइलीले भने ‘तर अहिले प्रतिष्ठानमा त्यस्ता रोगहरु सहजै उपचार गर्न सकिन्छ ।’
उनका अनुसार आँसु नली खोल्ने तथा पुनर्निर्माण गर्ने शल्यक्रिया, कालो मोतियाको उपचार, सौन्दर्यसम्बन्धी आँखा शल्यक्रिया, तल्लो र माथिल्लो आँखा ढकनी मिलाउने शल्यक्रियादेखि अनुहार सुन्दर बनाउन दिइने विशेष सुइ सेवापनि प्रतिष्ठामै संभव भइ रहेको छ ।

साथै दृष्टि पर्दाको विस्तृत परीक्षण, आँखाको दृष्टि फैलावट जाँच्ने सेवा, नानीको बनावट परीक्षणजस्ता अत्याधुनिक जाँच सेवाहरू पनि प्रतिष्ठानमा उपलब्ध रहेको रसाइलीले बताए ।

मधुमेह, उच्च रक्तचाप र थाइराइडका कारण आँखामा पर्ने असरको परीक्षण र उपचार पनि हुँदै आएको छ ।
विशेष किसिमको लेजर उपचार सेवा पनि सञ्चालनमा छ। आँखा वरिपरि वा अनुहारको हड्डी भाँचिएका बिरामीका लागि शल्यक्रिया गरि पुनर्निर्माणको कामपनि भइ रहेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *