तुलसीपुर,असार १७ । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । मंगलवार राति सम्म ती तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको बताए । मंगलवार विहान वडाध्यक्ष फर्साराम डाँगीमाथि एक अपरिचित समुहले कार्यकक्षै प्रवेश गरि लाठी तथा रडले आक्रमण गरि सक्त घाइते बनाएको थियो ।
घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि मंगलवार नै थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।वडाध्यक्ष डाँगीमाथि भएको उक्त आक्रमणको जिम्मा सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले लिएको छ । शान्तिनगर गाउँपालिकाका सेक्रेटरी कमलसिंहको नाममा वडा कार्यालयमा फेला परेको विज्ञप्तिमा घटनाको जिम्मा लिइएको छ ।
त्यो विज्ञप्तिमा वडाध्यक्षले गुण्डागर्दी गरेको, विकाशका काम आफन्तलाई दिएर कमिसन खाएको, जुवा तास खेलाउने जस्ता कार्य गरेको दोषरोपन गरिएको छ । तर शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भने मागेको चन्दा नदिएपछि विप्लवका कार्यकर्ताले वडा कार्यालयम भित्रै प्रवेश गरि निकृष्ट ढंगले आक्रमण गरेको बताएका छन् ।