
दाङ, भदौ ३ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिदै छन् ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले बिश्वासको मतका लागि आँफुलाई प्रस्तुत गर्न थालेका हुन ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता उनी नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा नेकपा (एमाले) र नेकपाका बीचमा साउन ९ गते ३ बुँदे सहमति भएको थियो । त्यो सहमति अनुसार प्रदेशहरुमा यी दुई बाम दलहरुले सत्ता बाँडबाँफ गरेका थिए । दुई दलका बीचमा कर्णाली र सुदुरपश्चिमको नेतृत्व नेकपाले गर्ने सहमति छ । सोही सहमति अनुसार नेकपाका शाही कर्णालीका मुख्यमन्त्री बनेका हुन ।
तर, मुख्यमन्त्रीमा नियुक्त भएको ३ साता बितिसक्दापनि शाही क्याबनेटमा एक जनापनि मन्त्री छैनन् । उनी एक्लै छन् । बुधबार उनी एक्लै उभिएर विश्वासको मत लिन थालेका हुन ।
कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १५ जना प्रदेशसभा सदस्य छन । कांग्रेसलाई समर्थन गर्दै आएका एक स्वतन्त्र सांसदलाई जोड्दा त्यो संख्या १६ पुग्छ । यहाँ नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य छन ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सदस्यको समर्थन आवश्यक पर्छ । नेकपाका १४ र एमालेका १० सांसद गरी २४ सदस्य भएकाले नयाँ गठबन्धनसँग सरकार गठनका लागि आवश्यक बहुमत छ ।
बुधबार विश्वासको मत लिइ सकेपछि शाहीले सरकार विस्तार गर्ने तथा पूर्णता दिने विश्वास गरिएको छ ।
