
दाङ,साउन १२ । सिंगापुरसंग नेपाल ८२ रनले पराजित भएको छ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आइतवारको खेलमा नेपाल सिंगापुरसंग पराजित भएको हो । सिंगापुरले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १५ ओभरमा १०९ रनमै अलआउट हुन पुग्यो । नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३९ रन जोडे। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि कप्तान पारस खड्का १० बलमा १२ रन जोडेर आउट भएकमा थिए ।
पारस र ज्ञानेन्द्र ७ ओभरभित्र आउट भएपछि दबाबमा परेको नेपालले लगातार विकेट गुमाउँदै गएको थियो ।
शरद भेषवाकारलाई जनक प्रसादले क्याच आउट गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ रन र सोमपाल कामीले रनआउट हुनुअघि ११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक सकेनन् ।
सिंगापुरका सेलाडेन विजयकुमारले एक्लैले ४ विकेट लिए। उनले त्यसमा २५ रन खर्चिएका थिए ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले सिंगापुरले ब्याटिङ गरेको थियो । सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोडेको हो। टिम डेभिडले सबैभन्दा बढी ७७ रन जोडे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि ओपनर रोहन रंगराजन ४९ रन जोडे । अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । उनका ओपनिङ पार्टनर चन्द्रमोहन भने ७ रनमा आउट भए।
मनप्रित सिंहले ४२ रनको योगदान दिदा सिंगापुरको इनिङले गति लियो। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। उनले ४ ओभरमा ३५ रन खर्चिए। करण केसीले २ विकेट हात पारे। उनले ३ ओभरमा २९ रन खर्चिए। ४ ओभर बलिङ गरेका बसन्त रेग्मी महँगा साबित भए। विकेट लिन नसकेका बसन्तले ५४ रन दिए। जसमा बसन्तले ५ चौका र ३ छक्का बेहोरे। सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन दिँदा विकेट लिन सकेनन्।
यो पराजय संगै आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै बनेको छ । यो जितसंगै सिंगापुर भने आगामी अक्टोबरमा युएईमा हुने विश्व छनोटमा पुगेको छ। विश्व छनोटमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँबाट ६ टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा भाग लिन पाउनेछन्।