घोराही, फागुन १६ । घोराहीमा लोक सांस्कृतिक महोत्सवको तयारी तीब्र पारिएको छ ।
घोराहीमा यही फागुन १८ देखी २१ गतेसम्म १२औँ अन्तराष्ट्रिय महोत्सव २०८० आयोजना गर्न थालिएको छ ।
पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव गर्न थालिएको हो ।
विभिन्न समिति उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरेको र भौतिक निर्माणको तयारी ९० प्रतिशत पुरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक बसन्त जोशीले जानकारी दिए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका जोसीले घोराहीको कृषी सामाग्री केन्द्रको प्राङगन (जिल्ला अदालतको पश्चिमतर्फ) भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा नेपाल सहित १३ देशका तीन सय बढी कलाकारहरुको प्रस्तुति रहने जानकारी दिइएको छ ।
फागुन १८ गते स्थानीय झाँकी सहित शोभा यात्रासँगै महोत्सवको उद्घाटन गरिने छ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । फागुन २१ गते कलाकारहरुको प्रस्तुति रहने छ ।
नेपाल, अष्ट्रिया, बेल्जियम, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, बोट्रसवाना, ईस्टोनिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी २०६८ मा यस्तो महोत्सव लगाएको थियो ।
