बुटवल,साउन २४ । सिद्धार्थ राजमार्गअन्तरगत बुटवल बेलहिया सडक खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउन निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।
बुटवल उपमहानगरपालिकाको सहजीकरणमा बुटवलमा सोमबार आयोजित कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल क्षेत्रका कार्यालय प्रमुखहरु, उद्योगी व्यवसायी, नागरिक समाजसहितको उपस्थितिमा भएको कार्यक्रममा निर्माण कम्पनीले यस्तो प्रतिबद्धता जनाएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका कार्यालयहरुबीच समन्वय र सहकार्य आवश्यक रहेकाले जनताको भावनाअनुसार काम गर्न आग्रह गरे।
उनले निर्माण कम्पनीले गरेको प्रतिबद्धताअनुसार काम गराउन निर्माण आयोजनाले ताकेता गर्नुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तरसरकारी कार्यालयबीच समन्वय र सहकार्य भएमा सडक निर्माणको काम तीब्र हुने विश्वास व्यक्त गरे ।
उनले जनताको समस्यालाई ध्यानमा राखेर निर्माण आयोजना र निर्माण कम्पनीले गम्भीरतापूर्वक काम अघि बढाउन चासो दिनुपर्ने बताए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकारी काममा आलटाल नगर्न र सबै सरकारी आयोजनाहरुलाई सहयोग गर्न आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रका विकास निर्माणका काममा सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रममा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, भन्सार कार्यालय भैरहवाका प्रमुख ज्ञानेन्द्र ढकाल, नेपाल टेलिकमका भगवानलाल कलवारले सडक विस्तारको कामलाई चुस्त बनाउन समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
बुटवल उपमहानगरपालिकाका वडाध्यक्षहरु नरिश्वर पौडेल, यज्ञप्रसाद पंगेनी, रामचन्द्र क्षेत्री, बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका नारायण घिमिरे, राजनीतिक दलका प्रतिनिधिहरु पदम श्रेष्ठ, ऋषिराम बस्याल, महेन्द्र भुसाल, विरेन्द्र विक, व्यवसायी यज्ञ पोखरेललगायतले बोल्दै सडक विस्तारको काम समयमा पूरा गराउनका लागि सरोकारवालाहरुले बढी चासो दिनुपर्ने बताएका थिए ।
विशेष अनुगमन सहजीकरण समिति गठन
सिद्धार्थ राजमार्गअन्तरगत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न २ वटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।
बुटवल तर्फको लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र सिद्धार्थनगरतर्फको लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिति बनाइएको हो ।
समितिमा विद्युत प्राधिकरण र खानेपानी संस्थानका बुटवल र सिद्धार्थनगरका कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन र बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख सदस्य सचिव रहेका छन् ।
समितिले प्रत्येक हप्ता बैठक बसेर कार्यप्रगतिबारे समीक्षा गर्ने र समन्वय र सहकार्य गर्नुपर्ने कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि पहल गर्ने निणर्य भएको छ ।
