निता चौधरी ।
थारुहरुको महान पर्व माघी अहिले सबैको घर–घरमा भित्रिसकेको छ । थारु जातीमा यो पर्वलाई पाँच दिनसम्म आफ्नै परम्पराअनुसार धुमधामका साथ मनाउने गरिन्छ । अर्थात माघी आगमन हुनुपूर्व थारु महिलाहरु घर लिपपोत गरी सफासुग्घर पारेका हुन्छन् र माघी कसरी मनाउने भनेर पूर्व योजना पनि बनाएका हुन्छन् ?
थारू जातिको महान पर्व माघीको विषयमा कुरा गर्दा थारू समुदायमा माघीलाई एउटा पर्व मात्र नभई नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । यसलाई ठाउँअनुसार माघ, माघे सक्रान्ति र खिचडी पनि भन्ने गरिन्छ । माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर सक्रान्ति पनि भनिन्छ ।
यस पर्वमा आफूले काम गर्ने कुनै पनि अफिस, हलिया, मुक्त कमैयाहरु अथवा रैती या अन्य व्यक्तिहरु केही समयका लागि छुट्टी पाएका हुन्छन् र घरमा बसेर धुमधामका साथ आपसमा रमाइलो गरेर माघी पर्व मनाउने गर्दछन् । यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रुपमा मनाइने भएकोले यसलाई थारु समुदायमा मुक्ति दिवसको रुपमा पनि लिने गरिन्छ ।
माघी पर्व थारू समुदायको चाडपर्व मात्रै नभएर नयाँ बर्षको रुपमा मनाउने गरिन्छ । यस अवसरमा नयाँ नीति नियम निर्माण पनि गरिन्छ । गाउँको अगुवादेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायतका बारेमा छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गरिन्छ । जुन थारु समुदायमा मात्रै सीमित छ भने अन्य समुदायका व्यक्तिले पनि उत्तिकै साथ र सहयोग प्रदान गर्ने गर्दछन् र थारु समुदायका मान्छेहरुसँग रमाउने पनि गर्दछन् । यसले गर्दा एकअर्कामा सद्भाव कायम गर्न पनि सहज भएको छ ।
थारू समुदायमा धुमधामसँग मनाइने माघी पर्वको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । माघी आउँदा जङ्गलमा पात टिप्न जाने, दाउरा ल्याउने, घरमा जाँडरक्सी बनाउने, माछा मार्ने ठाउँको छनौटलगायतका काम गरिन्छ । माछा मार्नका लागि माघी अगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा भ्यूँरा डर्ना तथा रखइना पनि भनिन्छ । भ्यूँरा राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैनन् । जसले भ्यूँरा राख्छ उसले भ्यूरा राखेको ठाउँमा पुस महिनाको अन्तिम दिन माछा मार्ने गर्दछन् ।
माघीमा सबैजना स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ । त्यसैले मानिसहरु स्वतन्त्ररुपमा माघी मनाए जस्तै पहिले–पहिले घरमा पालिएका पशुहरु (भेंडा–बाख्रा, गाई–गोरु, रांगा–भैंसी, सुंगुर) लाई पनि छाडा छाडिन्थे र कसैको बाली नोक्सानी गरे पनि त्यस दिन आम माफी हुन्थ्यो तर समय परिवर्तन भएसँगै योे चलन अहिले परिवर्तन भएको छ । पहिले जे जस्तो भए पनि आजभोलि यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको थारु अगुवाहरुको भनाइ रहेकोे छ ।
माघीमा चामलको पिठोबाट बनाइएको एक प्रकारको परिकार ‘ढिक्री’ बनाएर खाने प्रचलन छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक–फरक प्रकारका हुन्छन् । माघीमा लामो ढिक्री हुन्छ । माघीपछि दिन लामो हुने भएकोले लामो ढिक्री बनाएको थारू समुदायका अगुवाहरुको तर्क रहेको छ । अर्को तर्कअनुसार माघीमा लामो ढिक्री खाएपछि आयु लामो हुने धारणा पनि रहेको छ । ढिक्रीको परिकारहरुमा थारू समुदायको मौलिकता र पहिचान झल्किन्छ ।
यस्तै थारु समुदायमा पुस महिनाको अन्तिम दिन सुंगुर काट्ने गर्दछन् । जसलाई थारु भाषामा ‘सुवर मर्ना’ दिन भनिन्छ । थारू समुदायमा सुंगुरको मासु बिशेषरुपमा लिइने भएकाले पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । यस दिन बिहानैदेखि भ्यूँरा हालेर रखाएका (रख्वारी) गरेका खोला तथा कुलोहरुमा माछा मार्ने र थारु समुदायका घरमुलीहरु सबै जुटेर सुंगुर मार्ने गरिन्छ ।
यसरी माछा मार्ने, सुंगुर काट्ने र ढिक्री बनाउने काम पुस महिनाको अन्तिम दिन नै गरिन्छ । साँझ परेपछि आफ्ना इष्टमित्र, छिमेकीको घरमा गएर, साथीभाइकहाँ गएर जाँड, सुंगुरको मासु, माछालगायत थारु समुदायमा खाने परिकारहरु खाँदै ढुमरु भन्ने गीत गाउँदै माघी पर्वको प्रारम्भ हुन्छ ।
ढुमरुको केही अंश…
उतह लल रे हे कारल सुन्दर मठ कैर सेन्डुरा !
इहे लेव पिहा मोर सेन्डुरा बलैबु र ला ला,
मै सटि हार बलैबु र लाला,
मै सटि हार बलैबु !
माघीको दिन नयाँ बर्ष सुरुवात हुँदै छ, एक बर्ष बितेको अवसरमा श्रीमान (पिहा) लाई आफ्नो सिउँदोको सिन्दुर दिने, म सति (माघी) लाई बोलाइ दिन्छु भन्ने सन्दर्भमा गाइने ढुमरुको अंश हो यो ।
हरे उटरक डाँरा चरी हेरो भैया लक्षुमण !
कटहुनबाट लक्षुमण हिउँटा कैर स्वत !
थारु जाति खेती किसानी गर्ने भएकाले हिउँदको समयमा जब पानी पर्दैन अनि कुन डाँडामा चढेर हेरेपछि पानी पर्छ र कहिले पानी पर्ला र हिउँदे बाली (मसुरो, गहुँलगायत) राम्रो होला भन्ने भन्ने सन्दर्भमा गाइने ढुमरु (ढमार) को अंश रहेको थारु बुद्धिजिवीहरुको भनाइ छ ।
यसरी यस्ताखालका ढमार (ढुमरु) गाएर माघी प्रारम्भ हुन्छ । त्यसदिन राति महटवाकोे घरमा गई प्रत्येक घरबाट ठूला–ठूला काठका मुढाहरु लगिएको हुन्छ । त्यसलाई बालेर धुनी जलाइन्छ । गाउँभरिका मान्छेहरु जम्मा भई त्यही धुनी ताप्दै मादलको तालमा ढमार (ढुम्रु) गाउँदै, आगो ताप्दै उनीहरु रातभरी जाग्राम बस्ने चलन छ । ढमार गीतसँगै माघीमा मघौटा गीत र नाच बिशेष मानिन्छ । समयसँगै थारु गाउँमा ढमार गाउने चलन पनि लगभक हराइसकेको छ, जुन थारु ससुदायको लागि साह्रै नै दुःखको कुरा हो । यस्तै कारणले गर्दा थारु समुदायको पहिचान हराउँदै जान थालेको छ ।
यता महिलाहरु भने बिहान भाले बासेसँगै रोटी बनाउन र तरकारीका परिकारहरु बनाउन उठ्छन् भने महटवाको घरमा रातभरी धुनी तापेर जाग्राम बसेका मानिसहरु ढमार गाउँदै, मादल बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलाशयमा नुहाउन जान्छन् । थारू समुदायलाई प्रकृति पूजकको रुपमा लिइने हुनाले माघी पर्वमा जलदेवीसँग आफ्ना दुःख, सुख सुनाउने र मागहरु माग्ने गरिन्छ । यसरी मागेका माग पूरा हुने जनविश्वास पनि रहेको छ ।
थारु समुदायमा माघी पर्वमा सबैले अनिवार्य नुहाउनै पर्ने चलन रहेको छ । जाडोका कारण कतिपय मानिसहरु लामो समय नुहाएका हुदैनन् उनीहरुलाई पनि थारु समुदायका नीतिनियमले गर्दा नुहाउनु पर्ने हुन्छ । माघीमा नुहाउनाले शरीर सफामात्र नभईकन विभिन्न समस्याहरुबाट बच्न पनि सकिन्छ भन्ने परम्परागत मान्यता रहेको छ । नुहाउँदा खेरी घाउ खटिरालगायतका रोगहरु पनि लाग्न पाउँदैन यो राम्रो पक्ष पनि हो । तर यो पक्ष मात्र नभईकन थारु जातिको संस्कारको रुपमा रहेको छ ।
कोही लामो समयदेखि बिरामी परेको छ या त कुनैै पनि समस्या छ भने यही माघीको अवसरमा जलदेवीलाई बाचा (भाकल) राख्ने गर्छन् र स्वइच्छाले भाले, परेवा तथा भेडाको बली दिने गर्छन् । जब जलदेवीसँग मागेको मनोइच्छा पनि पूरा भएको महशुस हुन्छ तब ‘मनौटा पुज्ने’ बली दिने गर्छन् । यो पनि थारुहरुको आप्mनै पहिचान हो । त्यत्तिमात्रै होेइन थारु जातिमा माघीको दिनलाई नयाँ कपडा लगाउने दिनको रुपमा पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि नयाँ बर्षको दिन नयाँ लुगा लगाउन पाए राम्रो हुने थारु समुदायका जानकारहरुले बताउँछन् ।
शान्तिको प्रतीकको रुपमा लिइने सेतो टीका जुन थारु समुदायमा माघको १ गते लगाउने गर्दछन् । जुन टिकालाई थारु समुदायमा महत्वका साथ लिइन्छ । नुहाउन गएको बेलामा नुहाएर गाउँको महटवाको हातबाट टिका लगाएर मात्र घरमा फर्किने प्रचलन छ । सेतो टिकालार्ई चोखो अथवा पवित्र वस्तुको रुपमा पनि लिइन्छ । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्ट देखिन्छ । त्यसकारणले सेतो वस्तुको जस्तै पवित्र, स्वच्छ मन होस् भन्ने मान्यता रहेको छ, त्यसैले माघीमा नुहाएर कुनैै पनि किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिवद्धताका साथ सपथ खाने पनि गरिन्छ ।
स्नान गरेर घर फर्किएपछि छुट्टाछुट्टै ढकियामा राखिएको चामल, उर्दको दाल, नुन एकएक पसर निकाली छुट्टाछुट्टै टपरीमा राखी छोरी चेलीका लागि कोसेली ‘निस्राउ’ निकाल्ने चलन छ । जसलाई थारु भाषामा ‘निस्राउ कहर्ना’ भनिन्छ । चामल, मास (उर्द)को दाल र नुनलगायतको एक प्रकारको कोसेलीलाई निस्राउ भनिन्छ । जुन निस्राउ आफ्ना चेलीबेटीहरुलाई कोसेलीको रुपमा दिन जाने चलन छ । निस्राउ आफ्नो क्षमता हेरेर केही थप गरेर पनि दिने गरिन्छ ।
त्यसैगरी थारु जातिमा तिलको आगोको पनि छुट्टै महत्व छ । तिलको आगोलाई पवित्र मानिन्छ र १ गतेको दिन अर्थात माघीको दिन तिलको आगो ताप्ने चलन पनि छ । थारू समुदायमा तिल पवित्र चिज हो त्यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता रहेको छ । तर यस्तो खालको परम्परा आजभोलि समय परिवर्तनसँगै विस्तारै हराउँदै गएका छन् । कि जुनकुरा अहिलेका नयाँ तथा युवा पुस्तालाई सोध्ने हो भने सायद हामीलाई थाहा छैन थारु समुदायको माघीको बारेमा भन्छन् ।
निस्राउ निकालेर जन्म दिने आमा–बुवा तथा आफू भन्दा ठूलाबडसँग ढोग गरेर आर्शीवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरुले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरुसँग आशीर्वाद लिने गर्दछन् । नाताअनुसार सबैजनासँग ढोग आशीर्वाद लिदै खानपिन पनि शुरु हुन्छ । माघीमा बिशेषगरी अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको लामो आकारको ढिक्री, जाँड, सुंगुरको मासु, मेंवाको अचार, आलुको चट्नी (अचार) लगायतका परिकार बनाएर खाईन्छ । यसरी यस दिनभरी नै गाउँमा यसैगरी नाता अनुसार आफ्ना मान्यजनबाट आशीर्वाद लिदैं स्वतन्त्र भएर माघी मान्ने गरिन्छ । यसले गर्दा समुदायमा एकता, सम्बन्ध प्रगाढ बनाउन, आपसी सहयोग र सद्भाव आदानप्रदान गर्र्नेमा सहयोग पनि गर्दछ । यसरी एकआपसमा अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ, त्यसैले माघी पर्वलाई थारु समुदायमा मेलमिलापको रुपमा पनि लिइन्छ ।
माघ १ गते यस्तो दिन हो की जुन थारु समुदायका मान्छेहरुले माछा मासु पकाउने र मार्ने कार्य पनि गर्दैनन् । माघ १ गतेको दिनलाई थारु समुदायमा नयाँ बर्षको रुपमा मनाइने हुनाले नयाँ बर्षको दिनमा गलत क्रियाकलापहरु नगर्ने र गलत क्रियाकलाप गरेमा पछि कुनै पनि कुरामा असर पुग्छ त्यसले यस दिनमा मासुको तरकारीसमेत नपकाउने चलन रहेको छ ।
बली दिने होस् या त खानपिनको लागि होस् माघको १ गतेका दिन कुनै पनि पशुपंक्षीको काटमार हुँदैन । त्यसकारण पुसको अन्तिम दिन नै पकाएर राख्ने र २ दिनसम्म त्यही खाने गरेको थारु अगुवाहरुले बताउँछन् । किनभने यस दिनमा कसैलाई अन्याय, अत्याचार गर्नुहुँदैन, कसैलाई नरामे व्यवहार गर्नुहुँदैन, कसैलाई आँच आउने काम गर्नुहुँदैन, कुनै पशुपंक्षीका ज्यान मार्नु हँुदैन भन्ने मान्यताका कारणले माछा मासु पकाउने र मार्ने कार्य नगरिएको हो । यसैदिन साना–साना बालबालिकाहरुदेखि युवायुवती, बृद्धबृद्धाहरु पनि निकै रमाइलो गर्दै माघी मनाउने गर्छन् । उमेर अनुसारका समूह बनाई घर–घरमा गएर जाँड, सुंगुरको मासु खाएर, घर–घरमा गई ढिक्री मागेर ‘माघ माने अइली’ भन्दै कराउँछन्, खान्छन्, रमाउँछन् ।
थारु समुदायका थारू युवायुवतीहरु माघ आउनुभन्दा पहिलेदेखि मघौटा गीत गाउँदै नाचेर रमाइलोे गर्छन् । दाङमा मघौटा नाच भनेर एकदमै उत्साहका साथ नाचिन्छ । नाचमा नाच्ने नचन्या तथा (नतर्की) ले चोली (चोल्या), लेहङ्गा, सट्की (नाच्दा प्रयोग गरिने कपडा) र थारु गहनामा सजिएका हुन्छन् । मादले महिला तथा पुरुष जो पनि हुनसक्छ । मादलेले मादलमा लगाइएको डोरी कम्मरमा बाँधेर मादल बजाउँछन् । गीत गाउनेहरु गीत गाउँदै झाली, कस्टार बजाउँदै रमाइलो गर्छन् । नाचमा महिला पुरुष सबैको उत्तिकै सहभागिता रहेको हुन्छ । यसरी प्रत्येक घर–घरमा नाँच्दै, अनदीको झोल (जाँड) पिउँदै थारुहरु रमाउँछन्, जसलाई थारु भाषामा ‘माघ मन्ना’ भनिन्छ । यो क्रम थारु जातिमा पाँच दिनसम्म निरन्तर चल्छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक मुलुक हो । यहाँका विभिन्न जातजातिहरूको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति अनुसार चाडपर्वहरु रहेका छन् । त्यसैगरी आफ्नै किसिमका लवाईखवाई र चालचलन पनि रहेका छन् । यसरी विभिन्न जातजाति, कला र संस्कृतिले हामीलाई नेपाली बनाएको छ । एकअर्काको कला, संस्कृतिलाई स्वीकार्नु र सँगसँगै रमाउनु हामी नेपालीको बिशेषता होे । यसरी समुदायमा एकआपसमा सद्भाव बढाउन र एकअर्कामा सहकार्य गर्नको लागि पनि थारु जातिमा माघी पर्वको महत्व रहेको छ । त्यसैले हामीमा सद्भाव कायम गरेको छ र हामी सबै जातजाति एक आपसमा मिलेर बसेका छौं र एकअर्काको चाडपर्वहरुमा खुसी साटासाट गरी रमाउने पनि गर्छौँ र मनाउछौं पनि । त्यसैले थारु समुदायमा माघीलाई नयाँ बर्षकै रुपमा मनाइन्छ ।
मघौटा गीतको केही अंश …
‘सखी ए हो ! माघक पिली गुरी गुरी जाँर सखिय हो … !
भौजी भौजी कहनु भौजी नाही बोलली रे हाँ …
सखिए हो ! भौजीक कारण बाबा छोरबु डुवार सखिए हो … !
(भाउजु भाउजु भने तर पनि भाउजु बोल्नु भइन बाबा म भाउजुकै कारण घरको ढोका छोडेँ ए सखी) भन्ने जस्ता आफ्ना सुख दुःखका गीतहरु माघीमा गाइन्छ ।
माघीमा सबैजना स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ । त्यसैले मानिसहरु स्वतन्त्ररुपमा माघी मनाए जस्तै पहिले–पहिले घरमा पालिएका पशुहरु (भेंडा–बाख्रा, गाई–गोरु, रांगा–भैंसी, सुंगुर) लाई पनि छाडा छाडिन्थे र कसैको बाली नोक्सानी गरे पनि त्यस दिन आम माफी हुन्थ्यो तर समय परिवर्तन भएसँगै योे चलन अहिले परिवर्तन भएको छ । पहिले जे जस्तो भए पनि आजभोलि यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको थारु अगुवाहरुको भनाइ रहेकोे छ ।
थारु समुदायमा खिचडी पकाएर खाने दिनलाई ‘खिच्रहवा’ भनिन्छ । थारु समुदायले खिचडी पनि माघीमा खाने गर्दछन् । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू तथा तेलमा पकाइन्छ । खिचडीजस्तै जमिन्दार, रैती, किसान, कमैया, ओर्गीनियाँ (महिला अगुवा), छेग्रहवा (बाख्रा चराउने मान्छे), बर्डिवा (गोरु चराउने मान्छे), भैँसर्वा (भैँसी चराउने मान्छे) सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको पुराना पुस्ताका थारुहरुको भनाइ छ । यसदिन कसैले कसैलाई पदीय रुपमा विभेद गर्न पाउँदैनन् । सबैजना स्वतन्त्ररुपमा दिल खोलेर बोल्न बोल्छन् । यसर्थ पनि थारु जातिमा माघी पर्वको महत्व धेरै नै छ ।
घरभित्रको आन्तरिक छलफल पुसको अन्तिम दिन भएपनि वर्षभरिको कामको समीक्षा गर्ने, पुनः जिम्मेवारी लिनदिने भने माघी दिवानीको दिन गरिने थारु अगुवाहरुले बताउँछन् । महटवालाई मान्न जानेलाई माघी दिवानी भनिन्छ । माघी दिवानी गाउँको महटवाको घरमा माटोको भाँडो (करै) मा रक्सी लिएर प्रत्येक घरको घरमुली माघी दिवानी मनाउन जाने गरिन्छ । जुन चलन आजभोलि हराइसकेको छ । यस्तैगरी माघीमा (‘भुराखेल’ तथा ख्याल) बैठक पनि बसिन्छ । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरुको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले विशेष महत्व मानिन्छ । अगुवालाई ठाउँ बिशेष अनुसार बरघर, भल्भन्सा, महटावा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया (अगाडिको मान्छे), पन्हेर्वा (पानी हेर्ने मान्छे), गाउँको भूह्याँर ठानको हेरचाहका लागि र गाउँको रक्षक (चौकीदार) पनि चयन गरिन्छ । बैठकमा गत वर्षमा भए गरिएका बाटोघाटो, कुलानाला, सडकलगायत विकासका कामसम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति नियम निर्माण गर्ने र नियम उल्लंघन गर्नेलाई दण्ड जरिवाना पनि तोकिन्छ ।
यस्तैगरी परिवारका कुन व्यक्ति कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरुको विवाह गर्ने र नगर्ने, ‘छारा’ (बसाईसराई) सरेर जाने र नजाने, घर छुट्टिने र नछुट्टिने, अधिया–बटैया लिनेदिने, बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसँगको लेनदेन, हिसाब किताबलगायतका घरायसी कुराहरुको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिनेदिने काम पनि माघीमा हुन्छ । तर आजभोलि यस्तो गरिदैन किन भने यी सबै समयको परिवर्तन यसैगरी आफ्नो मौलिक परम्परा,पहिचान र संस्कार भुल्नु नै यसको प्रमुख कारण मानिन्छ ।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्वको मौलिक परम्परा समाजमा भएको परिवर्तनसँगै आजभोलि हराउन थालेको छ । जसलाई हामीले संरक्षण र सम्वद्र्धन गर्नुपर्ने जरुरी देखिएको छ । यसरी थारू समुदायमा अगुवा चुन्ने, नीति निर्माण गरिने, आगामी योजनाको छनौट गर्ने भएकोले गाउँलाई पनि अनुशासित बनाउँछ र नियममा रहन सहयोग पनि गर्छ । जसले गर्दा गाउँमा परम्पराभन्दा पनि समृद्ध संस्कृति र समाजको विकासको गर्न सहज हुन्छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक मुलुक हो । यहाँका विभिन्न जातजातिहरूको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति अनुसार चाडपर्वहरु रहेका छन् । त्यसैगरी आफ्नै किसिमका लवाईखवाई र चालचलन पनि रहेका छन् । यसरी विभिन्न जातजाति, कला र संस्कृतिले हामीलाई नेपाली बनाएको छ । एकअर्काको कला, संस्कृतिलाई स्वीकार्नु र सँगसँगै रमाउनु हामी नेपालीको बिशेषता होे । यसरी समुदायमा एकआपसमा सद्भाव बढाउन र एकअर्कामा सहकार्य गर्नको लागि पनि थारु जातिमा माघी पर्वको महत्व रहेको छ । त्यसैले हामीमा सद्भाव कायम गरेको छ र हामी सबै जातजाति एक आपसमा मिलेर बसेका छौं र एकअर्काको चाडपर्वहरुमा खुसी साटासाट गरी रमाउने पनि गर्छौँ र मनाउछौं पनि । त्यसैले थारु समुदायमा माघीलाई नयाँ बर्षकै रुपमा मनाइन्छ ।