दाङ, जेठ २५ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले राज्य मन्त्री सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ । खड्का हाल सामाजिक बिकास राज्य मन्त्री छिन ।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार खड्कालाई सचेतकमा मनोनित गरेका हुन ।
यसअघिका प्रमुख सचेतक विक्रमसिंह धामी थिए । उनले पदबाट राजिनामा दिए पछि खड्कालाई नियुक्ति गरिएको हो । स्रोतका अनुसार मन्त्री फेरबदलको अन्तिम तयारी चलिरहेको हुँदा अब धामी मन्त्री बन्दै छन् । हालकी राज्य मन्त्री खड्कासहितका मन्त्रीहरु सरकार बाट बाहिरिने अन्तिम तयारी चलिरहेको छ । त्यसैका लागि खड्कालाई नयाँ जिम्मेवारी प्रदान गरिएको हो ।

त्यस्तै सोमबार नै बसेको सदुरपश्चिम सरकार मन्त्रिपरिषदको बैठक बस्यो ।
स्रोतका अनुसार काँग्रेस र नेकपा (एमाले) बाट सुदुरपश्चिम सरकारमा सामेल मन्त्रीहरुको औपचारिक बिदाइको लागि मन्त्रीपरिषद बैठक बसेको थियो । हालसम्म साथ सहयोगका लागि मुख्यमन्त्री शाहले काँग्रेस र एमाले बाट आँफु नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुलाई धन्यबाद दिएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड, २०८३ को मस्यौदा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
