२०८२ असार ७ गते आइतवार

नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्व छनोटमा पर्न सफल

दाङ, वैशाख ५ । नेपाली महिला टिम पहिलो पटक विश्व छनोटमा पुगेको छ।


आइसिसी महिला टी – २० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा सोमबार युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्व छनोटमा पर्न सफल भएको हो ।

नेपालले थाइल्यान्डमा भएको खेलमा जित निकालेपछि सुपर –३ को शीर्ष दुई स्थान पर्न सफल भए संगै पहिलो पटक विश्व छनोटमा पर्न सफल भएको हो ।


मंगलबार सुपर–३ को अन्तिम खेलमा नेपाल र आयोजक थाइल्यान्डबीच मंगलबार खेल हुने भएको छ । सुपर –३ को अन्तिम खेलअघि शीर्ष स्थानको थाइल्यान्डको ८ , नेपालको ७ र युएईको ६ अंक छ।

युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छँदै पुरा गरेको थियो । ५ विकेट गुमाएर लक्ष्य पुरा गर्ने क्रममा कप्तान इन्दू बर्माले नटआउट ३० रन जोडेकी थिइन । उनले २८ बलमा २ चौका प्रहार गरेकी थिइन । त्यस्तै अलराउन्डर रुबिना क्षेत्रीले १८ बलमा २३ रन जोड्न सफल भइन ।


ओपनर सम्झना खड्काले २१ रन जोडेकी थिइन भने पूजा महतोले १३ रनको योगदान गर्दा नेपाललाई महत्वपूर्ण जित निकाल्न सहज भएको हो ।

टस जितेपनि नेपालले फिल्डिङ रोजेको थियो ।
पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।


युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोड्न सफल भएकी थिइन । उनलाई मनिषा उपाध्यायले १३औं ओभरमा क्याच आउट गरेकी थिइन ।

अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ रन , हीनाले २०, र लाभान्या केनीले १२ रन जोडेका थिए ।

बलिङमा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिन सफल भइन । उनले चार ओभरमा २० रन खर्चिएकी थिइन । कविता कुँवरले अन्तिम ओभरमा दुई विकेट लिएकी थिइन । राजमति ऐरीले पनि एक विकेट लिएकी थिइन ।

यसअघि नेपाल समूह ‘सी’ को विजेता बनेको थियो । सोमबार यूएईलाई हराउँदै नेपाल सुपर –३ मा पुग्न सफल भएको हो ।

सुपर–३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएईपनि पुगेका छन् ।

सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई हराएको थियो ।
त्यसपछि नेपालले यही बर्ष विश्व छनोटका लागि प्रतिष्पर्धा गर्नुपर्ने छ । विश्व छनोटमा जम्मा १० टोली हुन्छन् ।
त्यसबाट छनोट भएका चार टोली आइसिसी महिला टी–२० विश्वकपमा पर्ने छन् । सन २०२६ मा इंग्ल्यान्डमा विश्वकपमा हुने भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *