
दाङ, असार १८ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ ले किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बर्षाको समयमा किसानले खेती गर्नका लागि आवश्यक रासायनिक मल नपाएको हुँदा मल उपलब्ध गराउन सरकारसंग माग गरिएको छ ।
वुधवार घोराहीमा बसेको काँग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले असारको आधा महिना वितिसक्दा पनि किसानले मल नपाएर खेती सुरू गर्न नसकेको हुँदा त्यसतर्फ गम्भिर बन्न सरकार र सम्वन्धित निकायलाई अनुरोध गरिएको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले गरेको गुणस्तरहिन कामको विरोधमा असार १७ गते घोराहीमा क्षेत्रीय समितिले आयोजना गरेको विरोध सभामा उपस्थित हुने सम्पूर्ण वडाबासीहरूमा धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै आर्थिक बर्षको अन्तिम समयमा हुने विकास निर्माणको काम रोकिनु पर्ने काँग्रेसले माग गरेको छ । साथै उसले जिल्लामा लामो समयसम्म पुल निर्माण कार्य अलपत्र पर्दा दंगाली जनताले दुःख पाईरहेकाले यसतर्फ ध्यान दिन सरकार, स्थानीय तह र निर्माण कम्पनीलाई अनुरोध गरिएको छ ।
सटरभाडा भाडा सच्चाउन माग
काँग्रेसको बैठकले घोराही उपमहानगरपालिकाको पाँचौ नगर अधिवेशनले घोराही बजार क्षेत्रमा वस्तुगत अध्ययन र व्यवसायीहरूसँग छलफल नै नगरी सटरभाडा हचुवाको भरमा तोकेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरपालिका १० नारायणपुर क्षेत्रको सौडीकुलादेखि खैरा चोकसम्मको सटर भाडा न्यूनतम ८ हजार तोकेको हुँदा त्यो वैज्ञानिक र वस्तुगत नभएको भन्दै त्यसमा गभ्मीर भई यथासिघ्र सच्याउन उपमहानगरपालिकासंग माग गरिएको छ ।
नेपाली काग्रेस दाङका पूर्व सभापति मोहनलाल वली, नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि जानका थापा, काग्रेस घोराही नगरका निवर्तमान सदस्य शशिधर वली, क्रियाशिल सदस्य गुमानसिंह वली र हिमलाल वलीको ममतामयी आमा केशरी वली र काँग्रेसका नेता घोराही १४ का मनबहादुर पुन, संविधानविद् डा. भिमार्जुन आचार्यको आमा देवकी आचार्य, घोराही १५ का क्रियाशिल सदस्य लोकबहादुर वलीको आमा नन्दकुमारी वलीको हालै भएको निधनप्रति दुःख व्यक्त गरिएको छ । मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरिएको छ । बैठकको सहजीकरण क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गरेका थिए ।
